२०८३ जेठ १५ , शुक्रबार

जाजरकोटमा दादुरा पुष्टि



जाजरकोट । जिल्लाको भेरी नगरपालिका–११ स्थित जगतिपुर क्षेत्रमा दादुराको संक्रमण देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थाहरू उच्च सतर्कतामा जुटेका छन् । गाउँमा लगातार ज्वरो आउने, शरीरमा रातो बिबिरा देखिने, रुघाखोकी लाग्ने तथा आँखा रातो हुने समस्या बढेपछि शंकास्पद बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा चार जनामा दादुरा पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ । जगतिपुर स्वास्थ्य चौकीका अनुसार स्वास्थ्य समस्याका कारण परीक्षण गरिएका छ जनामध्ये चार जनामा दादुराको संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएसँगै गाउँमा त्रास बढेको छ भने स्वास्थ्यकर्मीहरूले संक्रमण थप फैलिन नदिन निगरानी बढाएका छन् । स्वास्थ्य चौकी प्रमुख सुनिल बुढाथोकीका अनुसार परीक्षण गरिएका व्यक्तिहरूमा १८ वर्षीय दिपक विक, १८ वर्षीय डिल्ली विक, १८ वर्षीय धर्मिला विक, १० महिनाकी बालिका रितु विक, १७ वर्षीय कल्पना विक तथा २२ वर्षीय दुर्गा विक रहेका थिए । तीमध्ये चार जनामा दादुरा पुष्टि भएको र अन्यको अवस्था पनि निगरानीमा राखिएको उनले जानकारी दिए । स्थानीयवासीहरूमा देखिएको लक्षणमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरभरि बिबिरा फैलिने, रुघाखोकी लाग्ने, आँखा रातो हुने तथा कमजोरी महसुस हुने समस्या देखिएको बताइएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार केही बिरामीमा मुखभित्र घाउ आउने तथा पखाला लाग्ने समस्या समेत देखिएको छ । दादुरा अत्यन्त संक्रामक रोग भएकाले संक्रमित व्यक्तिबाट अरूमा छिट्टै फैलिन सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । विशेषगरी बालबालिका, कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्ति तथा खोप नलगाएकाहरू बढी जोखिममा पर्ने जनाइएको छ । यही कारण गाउँमा स्वास्थ्य सचेतना अभियान समेत सुरु गरिएको छ । स्वास्थ्य चौकीले सर्वसाधारणलाई भीडभाडमा नजान, अनिवार्य रूपमा मास्क प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहन आग्रह गरेको छ ।

साथै कुनै पनि व्यक्तिमा दादुरासँग मिल्ने लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ । स्वास्थ्य संस्थाले बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जनाएको छ ताकि बिरामीहरूले सहज रूपमा उपचार सेवा प्राप्त गर्न सकून्। गाउँमा संक्रमण फैलिन नदिन स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू सक्रिय रूपमा परिचालित भएका छन् । भेरी नगरपालिका स्वास्थ्य शाखाले दादुरा संक्रमण नियन्त्रणका लागि निगरानी बढाइएको, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको र जोखिमयुक्त क्षेत्रहरूमा विशेष स्वास्थ्य निगरानी सुरु गरिएको जनाएको छ ।

साथै बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई आग्रह गरिएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार दादुरा श्वासप्रश्वास तथा प्रत्यक्ष सम्पर्कबाट सजिलै सर्ने रोग हो। संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा वा खोक्दा निस्किने सूक्ष्म कणमार्फत यो रोग अरूमा फैलिन सक्छ। त्यसैले समयमै सावधानी अपनाउन नसके संक्रमण व्यापक बन्न सक्ने चेतावनी दिइएको छ । स्थानीयवासीहरूले पनि गाउँमा संक्रमण देखिएपछि त्रास बढेको बताएका छन् । यद्यपि स्वास्थ्यकर्मीहरूले आवश्यक सतर्कता अपनाए संक्रमण नियन्त्रणमा लिन सकिने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार