२०८३ जेठ १५ , शुक्रबार

बिदाले बढायाे राराकाे पर्यटकीय चहलपहल



मुगु ।  लगातार चार दिन सार्वजनिक बिदा परेपछि कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा क्षेत्रमा आन्तरिक पर्यटकहरूको उल्लेखनीय चहलपहल बढेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका नाै स्थित राराताल आसपास यतिबेला पर्यटकको भीड बढ्न थालेपछि होटल व्यवसायदेखि स्थानीय व्यापारसम्ममा उत्साह छाएको छ। बिहीबारदेखि आइतबारसम्म परेको सार्वजनिक बिदाले घुमफिरका लागि समय मिलेकाले देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरू रारा पुगिरहेका छन् । प्राकृतिक सौन्दर्य, शान्त वातावरण, हरियाली जंगल तथा हिमाली दृश्यावलोकनका कारण प्रसिद्ध राराताल अहिले पुनः पर्यटकले भरिन थालेको स्थानीय व्यवसायीहरूको भनाइ छ ।

रारास्थित होटल व्यवसायी शान्ति रोकायाका अनुसार यसपटक विगतको तुलनामा पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।  विशेषगरी परिवार, साथीभाइ तथा समूह बनाएर घुम्न आउने आन्तरिक पर्यटकहरूको आगमनले होटल व्यवसाय चलायमान बनेको उनले बताइन् । उनका अनुसार रारा क्षेत्रका अधिकांश होटल तथा लजहरूमा कोठा अभाव हुन थालेको छ । “चार दिनको लामो बिदाका कारण धेरै पर्यटक रारा पुगेका छन्,” उनले भनिन्, “होटलहरूको अकुपेन्सी करिब ९० प्रतिशतसम्म पुगेको छ । यसले व्यवसायीहरूलाई ठूलो राहत मिलेको छ । पर्यटकहरू विशेषगरी रारातालको अवलोकन, डुंगा सयर, मुर्माटप भ्रमण तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका छन् ।

मुर्माटपबाट देखिने सूर्योदय र रारातालको मनोरम दृश्य अहिले पर्यटकको प्रमुख आकर्षण बनेको छ । धेरैजसो पर्यटक दुई दिनसम्म राराताल तथा आसपासका क्षेत्र घुमेर फर्किने गरेका छन् । स्थानीय व्यवसायीहरूका अनुसार केही समयअघिसम्म अपेक्षाकृत शान्त रहेको रारा क्षेत्र अहिले फेरि पर्यटकको गतिविधिले व्यस्त हुन थालेको छ । पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय हस्तकला तथा खाद्यान्न व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ । रारालाई सामान्यतया फागुन, चैत, वैशाख तथा असोज, कात्तिक र मङ्सिर महिनामा बढी पर्यटक आउने गन्तव्यका रूपमा चिनिन्छ ।

ती महिनामा मौसम अनुकूल हुने भएकाले पर्यटकको चहलपहल बढी हुने गर्दछ । तर यसपटक सार्वजनिक बिदाका कारण अफ–सिजनमै पनि उल्लेखनीय सङ्ख्यामा पर्यटक पुगेका हुन् । स्थानीय पर्यटन व्यवसायीहरूले सडक पहुँचमा आएको सुधार, सामाजिक सञ्जालमार्फत बढ्दो प्रचारप्रसार तथा छोटो समयमै प्राकृतिक गन्तव्य पुग्ने चाहनाले आन्तरिक पर्यटन बढेको बताएका छन् । पछिल्लो समय युवापुस्ता र परिवारहरूले बिदाको समय सदुपयोग गर्दै रारा भ्रमणलाई प्राथमिकता दिन थालेको व्यवसायीहरूको अनुभव छ । पर्यटकहरूको चहलपहल बढेपछि स्थानीय बासिन्दामा समेत उत्साह थपिएको छ। पर्यटन व्यवसायमा निर्भर धेरै परिवारले लामो समयपछि राम्रो आम्दानी हुने अपेक्षा गरेका छन् । होटल व्यवसायीहरूले पर्यटकलाई सेवा दिन थप तयारी गरिएको बताएका छन् भने सरसफाइ र सुरक्षा व्यवस्थामा पनि विशेष ध्यान दिइएको जनाइएको छ ।

स्थानीय पर्यटन व्यवसायीहरूले रारामा अझै व्यवस्थित पूर्वाधार, सडक स्तरोन्नति, पर्याप्त यातायात सेवा तथा प्रचारप्रसार आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार सरकारले राराको पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योजना ल्याउन सके कर्णाली प्रदेशको पर्यटन क्षेत्रले ठूलो फाइदा लिन सक्छ । प्राकृतिक सौन्दर्यको अनुपम उपहार मानिने राराताल नेपालको सबैभन्दा ठूलो ताल हो । नीलो पानी, हरियाली वन र हिमाली दृश्यले घेरिएको रारा प्रत्येक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको छ । यसपटकको सार्वजनिक बिदाले फेरि एकपटक राराको पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार