२०८३ असार १ , सोमबार

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषित



हुम्ला ।  सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाभित्रका सबै आठ वटै वडालाई यसअघि नै पूर्ण खोपयुक्त वडा घोषणा गरिसकेपछि एक विशेष कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाभित्र जन्मदेखि २३ महिनासम्म उमेर समूहका ९५ प्रतिशतभन्दा बढी बालबालिकाले सरकारले निर्धारण गरेका सबै नियमित खोप प्राप्त गरेको पुष्टि भएपछि उक्त घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभागले तोकेको मापदण्ड पूरा गरेपछि गाउँपालिकाले पूर्ण खोप सुनिश्चितताको मान्यता पाएको हो । स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीका अनुसार नियमित खोप सेवाको पहुँच गाउँका सबै बस्ती तथा समुदायसम्म विस्तार गरिएकाले अधिकांश बालबालिका खोपको दायरामा आएका छन् । खोपबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यका साथ स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाले निरन्तर घरदैलो अभियान सञ्चालन गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले पूर्ण खोप सुनिश्चित गर्ने अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि तथा अभिभावकहरूको सक्रिय सहभागिता महत्वपूर्ण रहेको बताएका थिए ।

गाउँ–गाउँमा पुगेर खोप छुटेका बालबालिकाको खोजी गर्ने, अभिलेख अद्यावधिक गर्ने तथा अभिभावकलाई नियमित खोपको महत्वबारे जानकारी गराउने कार्यले अभियानलाई सफल बनाउन सहयोग पुगेको उनीहरूको भनाइ थियो । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले ‘खोज र खोप’ अभियानले खोपबाट वञ्चित हुन सक्ने बालबालिकाको पहिचान गरी आवश्यक खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले  बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न नियमित खोप सेवा सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गरे ।

‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ प्रत्येक वडामा नियमित रूपमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। खोप अभियान सफल भएसँगै बाल स्वास्थ्य सुधार, रोग नियन्त्रण तथा बालमृत्युदर न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । गाउँपालिकाले आगामी दिनमा पनि खोप सेवाको दिगोपना कायम राख्दै नयाँ जन्मिने सबै बालबालिकालाई समयमै खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायको संयुक्त प्रयासबाट प्राप्त यस उपलब्धिलाई सिमकोटको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता मानिएको छ ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार