सुर्खेत । कर्णाली प्रदेशमा प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षालय र विद्यालयका प्रशिक्षकहरूका लागि क्षमता विकास तालिम सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको उक्त तालिम असार १० गतेसम्म जारी रहनेछ । प्राविधिक शिक्षाको स्तर सुधार्दै शिक्षण पद्धति र व्यावहारिक सीपलाई प्रभावकारी बनाउने लक्ष्यसहित आयोजना गरिएको यो तालिम चालु आर्थिक वर्षभित्र सञ्चालन गरिएको चौथो ब्याच हो । तालिममा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी प्रशिक्षकहरूलाई आधुनिक शिक्षण विधि, सीप विकास र श्रम बजारको आवश्यकता अनुसार प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।
तालिम उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा रोजगारीका अवसर विस्तार गर्न तथा बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले पछिल्लो समय प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण घट्दै गएको उल्लेख गर्दै शिक्षाको गुणस्तर सुधार्न नयाँ सोच र व्यावहारिक योजना आवश्यक रहेको धारणा राखे । मन्त्री भण्डारीले कर्णालीको भौगोलिक अवस्था र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर उत्पादनमुखी तालिम तथा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । स्थानीय स्रोत–साधनको उपयोग गरी उत्पादन वृद्धि र स्वरोजगार सिर्जनामा केन्द्रित कार्यक्रमले प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने उनकाे भनाइ थियो ।
उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका शिक्षालयहरूमा प्रदेश सरकारले लगानी बढाउँदै आएको जानकारी दिँदै लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्ने बताए । प्रशिक्षकहरूको क्षमता अभिवृद्धिबाट गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै उनले तालिमले प्राविधिक शिक्षाको सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरे । प्रदेश सरकारका अनुसार यस्ता तालिमले प्रशिक्षकहरूको दक्षता बढाउनुका साथै प्राविधिक शिक्षालाई समयसापेक्ष, व्यावहारिक र रोजगारमुखी बनाउन सहयोग पुग्नेछ ।









