सल्यान । कुमाख गाउँपालिकामा वातावरणमैत्री, दिगो तथा स्वस्थ कृषि प्रणालीको विकास, स्थानीय उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण तथा अर्गानिक कृषि प्रविधिको विस्तार गर्ने उद्देश्यले तीन दिने कृषि सशक्तीकरण तालिम सम्पन्न भएको छ । ग्रीन नेपाल मल्टिप्रपोज प्रा.लि.को आयोजनामा तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा गाउँपालिकाभित्रका कृषक, युवा तथा कृषि क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत गाउँपालिकाको आर्थिक समृद्धि सम्भव रहेको बताए । उनले कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन आग्रह गर्दै कृषि विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गरे । विशिष्ट अतिथि लालबहादुर रावतले यस्ता व्यवहारिक तथा सीपमूलक तालिमले कृषि क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले सहभागीहरूलाई प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर उत्पादन वृद्धि गर्न आग्रह गरे ।
आयोजक संस्था ग्रीन नेपाल मल्टिप्रपोज प्रा.लि.का अध्यक्ष खिम डी.सी.ले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा कृषकको आयआर्जन बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए । उनले आगामी एक वर्षभित्र कुमाखको अर्गानिक बेसारलाई ब्राण्डिङ गर्ने लक्ष्य रहेको समेत बताए । तालिममा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख तथा वनस्पति वैज्ञानिक डा. मित्र पाठकले कुमाखको भौगोलिक तथा जलवायुगत अवस्थाअनुसार टिमुर, तेजपात, चिराइतो, सतुवा, कुरिलो र रोजमेरीजस्ता उच्च मूल्यका जडीबुटी तथा मसला बालीहरूको व्यावसायिक खेतीको सम्भावनाबारे प्रस्तुति दिए ।
त्यस्तै, अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटका संयोजक डा. घनश्याम भण्डारीले अदुवा तथा बेसार खेतीको आधुनिक प्रविधि, रोग–कीरा व्यवस्थापन र बजार सम्भावनाबारे प्रशिक्षण दिँदै यी बालीलाई नगदे बालीका रूपमा विकास गर्न सकिने धारणा राखे । परियोजना कार्यान्वयन एकाइ सल्यानका प्रमुख अनिल बानियाँले अर्गानिक खेती प्रणाली, जैविक मल तथा जैविक विषादीको प्रयोग, माटो संरक्षण र सुरक्षित खाद्य उत्पादनसम्बन्धी विषयमा सहजीकरण गरे। उनले रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभावबारे पनि जानकारी गराए ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा सैद्धान्तिक र व्यवहारिक दुवै प्रकृतिका सत्रहरू समावेश गरिएको थियो। सहभागीहरूले स्थानीय स्रोत, सम्भावना र जडीबुटी खेतीसम्बन्धी उपयोगी ज्ञान हासिल गरेको बताएका छन् । समापन कार्यक्रममा वक्ताहरूले अर्गानिक उत्पादन, कृषि व्यवसायीकरण तथा जडीबुटी खेती विस्तारमार्फत कुमाखलाई कृषि उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे । सहभागीहरूले पनि प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरी उत्पादन र आम्दानी वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् । तालिमपश्चात् ४५ जना सहभागीलाई जैविक तथा वनस्पतिजन्य विषादी उत्पादनका लागि आवश्यक ड्रम तथा सामग्री वितरण गरिएको थियो ।
कार्यक्रमका आयोजक खिम डी.सी.ले गाउँपालिकाको कुनै एक क्षेत्रमा जडीबुटी विशेष पकेट क्षेत्र विकास गरिने र त्यहाँ रोपिएका बिरुवा संरक्षण गर्ने कृषकलाई ‘एक बोट बराबर २० रुपैयाँ’ प्रोत्साहन उपलब्ध गराइने जानकारी दिए । यसैबीच, वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले पकेट क्षेत्र विकासको योजना कार्यान्वयन भएमा आवश्यक बिरुवा उपलब्ध गराउन केन्द्रको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।









