२०८३ साउन १५ , शुक्रबार

कर्णाली उद्योग वाणिज्य महासंघद्वारा रणनीतिक योजना तर्जुमा, महिला उद्यमशीलता र रोजगारीमा जोड



सुर्खेत । कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघले नवनिर्वाचित पदाधिकारी, कार्यकारिणी समिति सदस्य, रोजगारदाता परिषद्का सदस्य तथा जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग रणनीतिक योजना तर्जुमा तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

ईडब्ल्युपीएन (EWPN) कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रम वीरेन्द्रनगरस्थित होटल नमस्तेमा सम्पन्न भएको हो। कार्यक्रममा महासंघका पदाधिकारी, कार्यकारिणी समिति सदस्य, रोजगारदाता परिषद्का सदस्य तथा विभिन्न जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिसहित २० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा EWPN अन्तर्गत हालसम्म सञ्चालन भएका गतिविधि, प्राप्त उपलब्धि, सिकाइ तथा आगामी कार्ययोजनाबारे विस्तृत प्रस्तुतीकरण र छलफल गरिएको थियो । छलफलका क्रममा महिला उद्यमशीलता विकास, व्यवसायको औपचारिकीकरण, रोजगारीका अवसरमा महिलाको पहुँच विस्तार, सामाजिक सुरक्षा योजनामा आबद्धता तथा कार्यस्थलमा लैङ्गिक समानता सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको थियो ।

सहभागीहरूले महिला उद्यमीलाई व्यवसाय विस्तार, वित्तीय पहुँच, सीप विकास, बजार प्रवर्द्धन तथा रोजगारीका अवसरसँग जोड्न महासंघ र सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको बताएका थिए ।

त्यसैगरी रोजगारदाता परिषद्का सदस्यहरूले श्रम बजारको आवश्यकता अनुरूप दक्ष जनशक्ति विकास, सुरक्षित र मर्यादित रोजगारीको प्रवर्द्धन तथा सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका थिए। कार्यस्थलमा लैङ्गिक विभेद न्यूनीकरण, लैङ्गिक हिंसा रोकथाम तथा महिला श्रमिकको सहभागिता वृद्धि गर्न संस्थागत प्रतिबद्धता आवश्यक रहेकोमा समेत जोड दिइएको थियो ।

छलफलबाट आगामी कार्यकालका लागि महासंघले उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना, महिला आर्थिक सशक्तीकरण, सामाजिक सुरक्षा विस्तार, निजी क्षेत्रको क्षमता अभिवृद्धि तथा प्रदेश सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने निर्णय गरेको जनाएको छ ।

कार्यक्रमको समापनमा सहभागीहरूले EWPN कार्यक्रमले महिला उद्यमी तथा श्रमिकहरूको आर्थिक र सामाजिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउँदै लैजान सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए ।

महासंघका अनुसार उक्त कार्यक्रमले नयाँ नेतृत्वलाई स्पष्ट कार्यदिशा प्रदान गर्नुका साथै कर्णाली प्रदेशमा समावेशी आर्थिक विकास, महिला सशक्तीकरण र सम्मानजनक रोजगारी प्रवर्द्धनका लागि साझा रणनीति निर्माण गर्ने आधार तयार गरेको छ ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार