सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत आगामी असार ५ देखि ७ गतेसम्म राष्ट्रिय एथलेटिक्सको केन्द्र बन्ने भएको छ । नेपाल एथलेटिक्स संघको आयोजना, कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा समन्वय र प्रदेश एथलेटिक्स संघ कर्णालीको सह–आयोजनामा ४६औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०८३ सुर्खेतस्थित अन्तर्राष्ट्रियस्तरको कर्णाली प्रदेश रङ्गशालामा सञ्चालन हुन लागेको हो । पहिलो पटक कर्णालीको आधुनिक रङ्गशालामा आयोजना हुन लागेको यस राष्ट्रिय प्रतियोगितालाई प्रदेशको खेलकुद विकास, खेल पर्यटन प्रवर्द्धन तथा आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहका अनुसार प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीका २४० खेलाडी सहभागी हुनेछन् । १२० महिला र १२० पुरुष खेलाडीले पुरुष तथा महिलातर्फ १४/१४ गरी २८ विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिता सञ्चालनका लागि नेपाल एथलेटिक्स संघका करिब ६० जना प्राविधिक, निर्णायक, टाइमकिपर तथा अफिसियल परिचालन गरिनेछ भने स्थानीय स्वयंसेवकहरू पनि व्यवस्थापनमा खटिनेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिताले कर्णालीका खेलाडीलाई राष्ट्रियस्तरका अनुभवी तथा उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ। आफ्नै भूमिमा राष्ट्रिय प्रतियोगिता आयोजना हुनुले खेलाडीको मनोबल बढ्नुका साथै नयाँ पुस्तालाई एथलेटिक्स खेलतर्फ आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। यसबाट कर्णालीमा खेल संस्कृतिको विस्तार, प्रतिभा पहिचान र खेलकुदको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा प्राविधिक गरी करिब ३२० जनाको उपस्थितिले सुर्खेतको होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा सेवा क्षेत्रका व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने देखिएको छ। राष्ट्रियस्तरका खेलकर्मी र खेलाडीको आगमनले स्थानीय बजार चलायमान हुनुका साथै कर्णालीको आतिथ्यता र पर्यटन सम्भावनालाई देशभर परिचित गराउने अवसरसमेत सिर्जना गर्ने विश्वास गरिएको छ।
करिब ७० लाख रुपैयाँ लागतमा सञ्चालन हुने यस प्रतियोगितालाई आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीका रूपमा समेत हेरिएको छ। रङ्गशाला व्यवस्थापन, खेल सञ्चालन, प्राविधिक जनशक्ति परिचालन तथा खेल पूर्वाधारको परीक्षणका दृष्टिले यसले महत्वपूर्ण अनुभव प्रदान गर्ने आयोजकको भनाइ छ ।








