२०८३ असार ३ , बुधबार

विपन्न कृषकलाई तालिमसहित कृषि सामग्री वितरण



सल्यान ।  शारदा नगरपालिकाका विभिन्न वडाका कृषकलाई व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि तालिम तथा कृषि सामग्री वितरण गरिएको छ । कृषि विकास कार्यालय सल्यानको आयोजना तथा शारदा नगरपालिकाको समन्वयमा सञ्चालित विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत कृषकलाई व्यावहारिक तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमअन्तर्गत शारदा नगरपालिका दुई  छ र १५ का १५ जना कृषकलाई तरकारी खेतीसम्बन्धी स्थलगत तथा व्यावहारिक तालिम प्रदान गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

तालिममा आधुनिक कृषि प्रविधि, व्यवसायिक तरकारी उत्पादन, उत्पादन वृद्धि तथा कृषि व्यवस्थापनका विषयमा जानकारी दिइएको थियो । कृषकको श्रम, समय र उत्पादन लागत घटाउने उद्देश्यले कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा मिनिटिलर (हाते ट्रेक्टर) वितरण गरिएको छ । उक्त उपकरणले खेतबारीको जोताइ तथा अन्य कृषि कार्यलाई सहज बनाउनुका साथै उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, कृषकलाई बेमौसमी तरकारी उत्पादनतर्फ प्रोत्साहन गर्न शतप्रतिशत अनुदानमा ११ वटा बाँसको प्लास्टिक टनेल निर्माणको कामसमेत अघि बढाइएको छ ।

प्लास्टिक टनेल निर्माणपछि वर्षभरि तरकारी उत्पादन गर्न सहज हुने र कृषकको आम्दानीमा वृद्धि हुने विश्वास गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले कृषि क्षेत्रलाई नगरपालिकाको आर्थिक समृद्धिको मुख्य आधारका रूपमा लिइएको बताए । उनले विपन्न तथा साना कृषकलाई आत्मनिर्भर र व्यवसायिक कृषितर्फ उन्मुख गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।

“कृषि उत्पादन वृद्धि मात्रै होइन, कृषकको आयस्तर उकास्नु पनि हाम्रो प्राथमिकता हो,” नगर प्रमुख भण्डारीले भने “आधुनिक प्रविधिको प्रयोग र उत्पादनमुखी कार्यक्रममार्फत कृषकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ  ।” नगर उपप्रमुख सुस्मिता सापकोटाले महिलाहरू तथा विपन्न समुदायलाई कृषि उद्यमसँग जोड्न विशेष प्राथमिकता दिइएको बताए । उनले  तालिम र कृषि सामग्रीको प्रभावकारी उपयोग गर्दै उत्पादन बढाउन कृषकलाई आग्रह गरे ।  कार्यक्रममा सहभागी कृषकहरूले तालिम र कृषि सामग्रीले व्यवसायिक तरकारी खेती विस्तार गर्न थप हौसला मिलेको बताएका छन् ।

आधुनिक कृषि उपकरण र प्लास्टिक टनेलको प्रयोगले उत्पादन बढाउनुका साथै वर्षभरि तरकारी खेती गर्न सहज हुने उनीहरूको विश्वास छ । कृषि विकास कार्यालय सल्यान र शारदा नगरपालिकाको सहकार्यमा सञ्चालित यस कार्यक्रमले विपन्न समुदायका कृषकलाई व्यवसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्दै आयआर्जन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भरता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार