सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) का नवनियुक्त उपकुलपति सह–प्राध्यापक डा. ई. राजन सुवालले विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विश्वविद्यालयको शैक्षिक सुधार, अनुसन्धान विस्तार, संस्थागत सुदृढीकरण र प्रभावकारी व्यवस्थापनलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन् । मंगलबार विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित बैठक हलमा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उपकुलपति सुवालले कर्णाली क्षेत्र तथा मध्यपश्चिम विश्वविद्यालयमा यसअघि विभिन्न जिम्मेवारीमा रहेर प्राप्त गरेको अनुभवलाई विश्वविद्यालयको समग्र विकासमा प्रयोग गर्ने बताए ।
उनले विश्वविद्यालय केवल शैक्षिक गतिविधि सञ्चालन गर्ने संस्था मात्र नभई ज्ञान उत्पादन, अनुसन्धान विकास र समाज रूपान्तरणको केन्द्र बन्नुपर्ने धारणा राखे । त्यसका लागि शैक्षिक गुणस्तर वृद्धि, अनुसन्धानका अवसर विस्तार, नयाँ प्रविधिको प्रयोग र संस्थागत क्षमता विकासमा विशेष ध्यान दिइने उनले बताए । विश्वविद्यालयको विकासका लागि सकारात्मक सोच, सहकार्य र परिणाममुखी कार्यशैली आवश्यक छ उनले भने, “सबै पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सरोकारवालाको सामूहिक प्रयासबाट मात्रै विश्वविद्यालयलाई थप उचाइमा पुर्याउन सकिन्छ ।
उपकुलपति सुवालले विश्वविद्यालयको समग्र हितका लागि सबै पक्षले आफ्नो जिम्मेवारी इमानदारी, कर्तव्यनिष्ठा र समर्पणका साथ पूरा गर्नुपर्नेमा जोड दिए । उनले प्रशासनिक सुधारसँगै शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने, अनुसन्धानलाई प्राथमिकता दिने र विद्यार्थीमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा निवर्तमान उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलको सम्मान तथा बिदाइ कार्यक्रम पनि आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै पौडेलले विशेष परिस्थितिमा विश्वविद्यालयको नेतृत्व गर्ने जिम्मेवारी पाएको स्मरण गर्दै आफ्नो कार्यकालमा संस्थागत विकास, शैक्षिक गुणस्तर सुधार र विश्वविद्यालयको समग्र हितका लागि निरन्तर काम गरेको बताए । उनले विश्वविद्यालयको विकास एउटा निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै आगामी दिनमा पनि विश्वविद्यालयको उन्नति र प्रगतिका लागि आफ्नो साथ, सहयोग र शुभेच्छा रहने बताए । साथै उनले नयाँ नेतृत्वले विश्वविद्यालयलाई थप गतिशील र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार सह–प्राध्यापक डा. अर्जुनबहादुर अयडीले स्वागत मन्तव्य व्यक्त गर्दै नवनियुक्त उपकुलपति डा. सुवाललाई सफल कार्यकालको शुभकामना दिए। उनले विश्वविद्यालयको विकासका लागि नयाँ नेतृत्वबाट सकारात्मक पहल हुने अपेक्षा व्यक्त गरे । स्वागत तथा पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, विभिन्न संकायका डिन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, विभागीय प्रमुख तथा संयोजक, प्राध्यापक, कर्मचारी, विद्यार्थी र अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममार्फत विश्वविद्यालयको आगामी यात्रामा शैक्षिक उत्कृष्टता, अनुसन्धान प्रवर्द्धन र संस्थागत सुधारलाई केन्द्रमा राखेर अघि बढ्ने नयाँ नेतृत्वको प्राथमिकता सार्वजनिक गरिएको छ ।









