सल्यान । कालिमाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा ५३ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ । गाउँपालिकाको २०औँ गाउँसभामा गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष दानबहादुर खत्री केसीको अध्यक्षतामा सम्पन्न बैठकमा वडा नं पाँचका अध्यक्ष टोपबहादुर कार्कीले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भने उपाध्यक्ष सनशीलता ओली डिसीले आगामी आर्थिक वर्षको आय–व्यय विवरण नाै बजेट सभासमक्ष पेश गरेका थिए ।
छलफलपछि नीति तथा कार्यक्रम र बजेट दुवै सर्वसम्मत रूपमा पारित गरिएको हो । पारित नीति तथा कार्यक्रममा ‘एक घर–एक धारा’, ‘उज्यालो पालिका’ तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखिएको छ । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा, सुशासन र आर्थिक विकासका कार्यक्रमलाई विशेष महत्व दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने, निर्माण भएका सडकको नियमित मर्मत तथा स्तरोन्नति गर्ने, दिगो तथा गुणस्तरीय पूर्वाधार निर्माणलाई तीव्रता दिने र नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्युत् पहुँच नपुगेका क्षेत्रमा विस्तार गरी ‘उज्यालो पालिका’ अभियानलाई पूर्णता दिने लक्ष्य लिएको छ ।
यस्तै, नीति तथा कार्यक्रममा वन तथा वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण, कृषि तथा पशुपन्छी विकास, सहकारी प्रवर्द्धन, न्यायिक सेवा, सेवा प्रवाह सुधार, सार्वजनिक प्रशासन, राजस्व व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लक्षित वर्गको सशक्तीकरण, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता, रोजगार तथा उद्यम विकास, व्यापार–व्यवसाय प्रवर्द्धन, उपभोक्ता हित संरक्षण, बजार व्यवस्थापन तथा साझेदारी विकासका कार्यक्रमलाई समेत समेटिएको छ ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २२ लाख रुपैयाँ, राजस्व बाँडफाँडतर्फ १४ करोड ७२ लाख ३९ हजार रुपैयाँ, समपूरक अनुदानतर्फ एक करोड ९३ लाख रुपैयाँ तथा सशर्त अनुदानतर्फ १८ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । त्यसैगरी कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ३३ लाख २८ हजार रुपैयाँ, राजस्व बाँडफाँड २१ लाख ११ हजार रुपैयाँ, सशर्त अनुदान दुई करोड तिन लाख ५५ हजार रुपैयाँ, समपूरक अनुदान एक करोड १८ लाख रुपैयाँ तथा विशेष अनुदान ५० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
यसका अतिरिक्त गाउँपालिकाले आन्तरिक राजस्वबाट ५७ लाख रुपैयाँ तथा बैंक मौज्दातबाट एक करोड रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरेको छ । यी सबै स्रोतलाई आधार मानी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५३ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आय–व्यय अनुमान सार्वजनिक गरेको हो । गाउँपालिकाले आगामी वर्षका नीति तथा कार्यक्रम र बजेटमार्फत आधारभूत सेवा विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा सुशासनलाई थप सुदृढ गर्दै समृद्ध कालिमाटी निर्माणको लक्ष्यलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ ।









