२०८३ असार २८ , आइतबार

विपन्न र टुहुरा बालबालिकाका लागि छात्रावास सञ्चालन



सल्यान । जिल्लाकाे शारदा नगरपालिका पाँच स्थित जनकल्याण आधारभूत विद्यालय, तल्लोमार्केमा विपन्न, टुहुरा तथा भौगोलिक रूपमा विकट क्षेत्रका बालबालिकालाई लक्षित गरी निर्माण गरिएको छात्रावास भवन उद्घाटन गरिएको छ । छात्रावास सञ्चालनसँगै नियमित रूपमा विद्यालय आउन कठिनाइ भोगिरहेका बालबालिकाले सुरक्षित आवाससहित अध्ययन गर्ने अवसर पाउने भएका छन् । करिब १० लाख रुपियाँको लागतमा निर्माण भएको भवनमा शारदा नगरपालिकाले पाँच लाख रुपियाँ सहयोग गरेको थियो भने बाँकी रकम समुदाय, सामुदायिक वन, सहयोगी दाता र स्थानीयवासीको आर्थिक तथा श्रमदानबाट जुटाइएको विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण वलीले जानकारी दिए ।

भवन निर्माणका लागि आवश्यक काठ सामुदायिक वन र स्थानीयवासीले उपलब्ध गराएका थिए भने निर्माण सामग्री ढुवानीका लागि नगरपालिकाले ट्र्याक्टर र जेसिबीको व्यवस्था गरेको थियो । ढुङ्गा, माटो, सिमेन्ट र जस्तापाताको प्रयोग गरी निर्माण गरिएको छात्रावास भवनको उद्घाटन शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले गरेका थिए । उनले सीमित स्रोतसाधनका बाबजुद स्थानीय समुदायको सक्रिय सहभागिताबाट निर्माण भएको यो छात्रावास सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरण भएको बताए ।

हाल छात्रावासमा ४७ जना बालबालिका बस्दै आएका छन् । विद्यालयका अनुसार अभिभावक गुमाएका, आर्थिक रूपमा विपन्न तथा विद्यालय टाढा भएका कारण दैनिक आवतजावत गर्न कठिन हुने बालबालिकालाई प्राथमिकतामा राखेर छात्रावासमा बस्ने व्यवस्था गरिएको छ । छात्रावासको दैनिक सञ्चालन, बालबालिकाको हेरचाह, सुरक्षा र अनुशासनका लागि शिक्षक, कर्मचारी र भान्सेसहित पाँच जना जनशक्ति परिचालन गरिएको विद्यालयले जनाएको छ ।

बालबालिकाको खानपानका लागि चालु आर्थिक वर्षमा शारदा नगरपालिकाले दुई लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको छ । साथै विद्यालयले पोसाक, कापी, कलम र अन्य आवश्यक शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउँदै आएको छ । विद्यालयका अनुसार स्थानीय समुदायले जन्मदिन, विवाह, व्रतबन्ध, पूजा लगायतका अवसरमा खाद्यान्न, नगद तथा अन्य सामग्री सहयोग गर्दै आएका छन् । छात्रावासलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयले आठ रोपनी जग्गा लिजमा लिएर तरकारी खेतीसमेत सुरु गरेको छ ।

उत्पादन भएको तरकारी छात्रावासमा उपयोग गरिने र भविष्यमा बिक्रीबाट प्राप्त आम्दानी सञ्चालन खर्चमा प्रयोग गर्ने योजना रहेको विद्यालयले जनाएको छ । छात्रावास उद्घाटन समारोहका अवसरमा लामो समय विद्यालयमा सेवा गरी सेवा निवृत्त भएका प्रधानाध्यापक डिल्लीबहादुर भण्डारीलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो । साथै छात्रावास निर्माणका लागि जग्गा उपलब्ध गराउने कालीबहादुर बुढाथोकी, पिमकली बुढाथोकी र हुकुम बस्नेतलाई सम्मानपत्र प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतबार