सुर्खेत । कर्णाली प्रदेशका नागरिकले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न सम्बन्धित यातायात व्यवस्था कार्यालय धाइरहनुपर्ने बाध्यता हट्ने भएको छ। लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी आवश्यक प्रक्रिया पूरा गरेका सेवाग्राहीले अब हुलाक सेवामार्फत आफ्नै घरमै लाइसेन्स प्राप्त गर्ने व्यवस्था लागू गरिएको छ।
यसका लागि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय सुर्खेतबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। मन्त्रालयका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालयका निर्देशक गोविन्दप्रसाद पाण्डेले हस्ताक्षर गरेसँगै सेवाको औपचारिक शुभारम्भ भएको हो।
कर्णालीका अधिकांश जिल्लामा यातायात व्यवस्था कार्यालय नहुँदा सेवाग्राहीले लाइसेन्स बनाउन र तयार भएको लाइसेन्स लिन सुर्खेत, जुम्ला वा रुकुम पश्चिम पुग्नुपर्ने बाध्यता थियो। यसले विशेषगरी दुर्गम जिल्लाका नागरिकलाई समय र आर्थिक रूपमा थप भार पर्ने गरेको थियो। अब भने यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम तथा यातायात व्यवस्था कार्यालय जुम्लाबाट जारी हुने लाइसेन्स हुलाकमार्फत सम्बन्धित व्यक्तिको घरमै पुर्याइनेछ। यस सेवाका लागि न्यूनतम ४० रुपैयाँ हुलाक शुल्क लाग्ने निर्देशनालयले जनाएको छ।
निर्देशक पाण्डेका अनुसार यो सेवा नेपाल सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको हो। गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सेवा नागरिकको घरमै उपलब्ध गराउने निर्णय गरेपछि त्यसलाई कार्यान्वयन गर्दै कर्णालीमा पहिलो चरणमा लाइसेन्स घरदैलोमा वितरण गर्न थालिएको उनले बताए।
हुलाक सेवा पछिल्लो समय चिठीपत्र वितरणमा मात्र सीमित नरही राहदानी, सिमकार्ड, सरकारी कागजात तथा स्वास्थ्यसम्बन्धी नमुना ढुवानीजस्ता सेवा पनि प्रदान गर्दै आएको छ। प्रदेश सरकारका अनुसार घरमै लाइसेन्स वितरण सेवाले नागरिकको समय र खर्च बचत गर्नुका साथै सरकारी सेवा प्रवाहलाई थप सहज, छरितो र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।








