२०८३ साउन १७ , आइतबार

जाजरकोटमा ६० लिटर घरेलु मदिरा नष्ट



जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले घरेलु मदिरा उत्पादन तथा बिक्री नियन्त्रण अभियानअन्तर्गत भेरी नगरपालिका छ स्याउली बजार क्षेत्रमा करिब ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी सहायक निरीक्षक कविराम जैसीको नेतृत्वमा खटिएको नौ सदस्यीय टोलीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा टोल सुधार समितिका पदाधिकारीहरूको उपस्थितिमा १० वटा होटल तथा पसलमा अनुगमन तथा चेकजाँच गरेको थियो ।

अनुगमनका क्रममा घरेलु मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र बिक्रीका लागि तयारी अवस्थामा राखिएको करिब ६० लिटर घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको मदिरा तथा उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ स्थानीय सरोकारवालाको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीका अनुसार घरेलु मदिराको अवैध उत्पादन, बिक्री वितरण र सेवन नियन्त्रण गर्दै सुरक्षित, स्वस्थ र सभ्य समाज निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

उनले अवैध मदिरा उत्पादन तथा कारोबार रोक्न प्रहरीको निगरानीलाई थप प्रभावकारी बनाइने र यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए । प्रहरीले घरेलु मदिराको अवैध उत्पादन तथा बिक्रीसम्बन्धी सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अभियानलाई सफल बनाउन समुदायसँग सहयोगको समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार