२०८३ साउन १९ , मंगलबार

कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ्दो



जुम्ला । कर्णाली प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ३६ हजार छ सय २४ जनाले मानसिक स्वास्थ्यसम्बन्धी उपचार सेवा लिएका छन् । उपचार लिनेको सङ्ख्या निरन्तर बढ्दै गए पनि आवश्यक मनोपरामर्शकर्ताको अभावले सेवा विस्तारमा चुनौती थपिएको छ । कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका अनुसार उपचार सेवा लिनेमध्ये ११ हजार चार सय ८४ जना नयाँ बिरामी हुन् भने २५ हजार एक सय ४० जना नियमित फलोअपका लागि स्वास्थ्य संस्थामा पुगेका थिए ।

प्रदेशका ७९ स्थानीय तहमध्ये ४१ स्थानीय तहमा मात्र मनोपरामर्शकर्ता कार्यरत छन् भने बाँकी ३८ स्थानीय तहमा यस्तो सेवा उपलब्ध छैन ।  निर्देशनालयका अनुसार हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम र सुर्खेतका धेरै स्थानीय तहमा मनोपरामर्शकर्ताको अभाव रहेको छ । यसले मानसिक स्वास्थ्यसम्बन्धी सेवा ग्रामीण क्षेत्रमा सहज रूपमा पुग्न नसकेको देखाएको छ ।

तथ्याङ्कअनुसार मानसिक स्वास्थ्य उपचार सेवा लिने बिरामी सबैभन्दा बढी सुर्खेतमा रहेका छन् । आर्थिक वर्ष २०८२/८३ मा सुर्खेतमा मात्रै १९ हजार सात  सय ६७ जनाले उपचार सेवा लिएका छन् । यता, सबैभन्दा कम बिरामी डोल्पामा भेटिएका छन्, जहाँ ९० जनाले मात्र उपचार सेवा लिएका छन् । रुकुमपश्चिम, जाजरकोट, सल्यान र दैलेखमा पनि मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिने बिरामीको सङ्ख्या उल्लेखनीय रहेको निर्देशनालयले जनाएको छ ।

मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउन कर्णाली प्रदेश सरकारले साउन महिनाभर ‘मानसिक स्वास्थ्य सचेतना महिना–साउन २०८३’ अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारमाध्यम तथा सरोकारवालासँग अन्तरक्रिया, रेडियो तथा एफएममार्फत सचेतनामूलक सन्देश प्रसारण, विद्यालयमा अभिमुखीकरण कार्यक्रम तथा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले मानसिक स्वास्थ्यलाई सामान्य स्वास्थ्यजत्तिकै महत्त्व दिनुपर्ने आवश्यकता औँल्याउँदै पर्याप्त जनशक्ति व्यवस्थापन, जनचेतना अभिवृद्धि र सहज पहुँचमार्फत मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार