सल्यान । शारदा नगरपालिका १३ चलाउनेपानी बाख्रेमा स्थानीय युवाहरूको सक्रिय पहलमा प्रतीक्षालय निर्माण गरिएको छ । करिब ४० जना युवाको सहयोग र सहभागितामा दुई लाख ५२ हजार सात सय रुपैयाँको लागतमा प्रतीक्षालय निर्माण सम्पन्न भएको हो । स्था
नीयवासीको लामो समयदेखिको आवश्यकतालाई मध्यनजर गर्दै युवाहरू एकजुट भएर प्रतीक्षालय निर्माणका लागि पहल गरेका थिए । सामूहिक प्रयासमा निर्माण भएको प्रतीक्षालय सञ्चालनमा आएपछि यात्रु तथा सर्वसाधारणलाई घामपानीबाट जोगिँदै विश्राम गर्न सहज भएको छ । प्रतीक्षालय निर्माणपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
समुदायको आवश्यकता पहिचान गरी युवाहरू आफैं सक्रिय भएर पूर्वाधार निर्माणमा जुट्नु सकारात्मक र अनुकरणीय काम भएको उनीहरूको भनाइ छ । निर्माण सम्पन्न भएको प्रतीक्षालयको हालै स्थानीयवासीको उपस्थितिमा उद्घाटनसमेत गरिएको छ ।
उद्घाटनका क्रममा स्थानीयले युवाहरूको सक्रियता, सहयोग र सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका थिए । स्थानीय युवाहरूको पहलले आवश्यक पूर्वाधार निर्माणसँगै सामूहिक सहकार्य र सामाजिक जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन् ।









