सागर रावल
दाङ । ग्यासको अभाव भएपछि उपभोक्ताले लामो समयसम्म लाइनमा बस्नुपर्ने र कतिपय परिवारले चुलोसमेत बाल्न नसक्ने अवस्था केही समयअघि दाङमा देखिएको थियो । बजारमा ग्यास नपाइने त्रास बढेपछि उपभोक्ता आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न थालेका थिए । यसले अभाव झनै बढ्ने अवस्था सिर्जना भएको थियो ।
यही समस्याबीच नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा ‘घोराही बनाऔँ अभियान’का संयोजक सबिन प्रियासन समाधान खोज्दै सक्रिय भए । ग्यास नपाएको गुनासो लिएर उपभोक्ताका फोन आउन थालेपछि उनले समस्या बुझ्न विक्रेता, उपभोक्ता र सम्बन्धित निकायसँग निरन्तर छलफल सुरु गरे । कतिपय उपभोक्ता दुई–तीन दिनसम्म ग्यासको लाइनमा बसेका थिए ।
बिरामी, सुत्केरी, वृद्धवृद्धा तथा विद्यार्थीका परिवारलाई ग्यास नपाउँदा थप समस्या भइरहेको थियो । उपभोक्ताले ग्यास आएको भनिए पनि आफ्नो पालो नआउँदै सकिने गुनासो गरिरहेका थिए । यता विक्रेताले भने मागअनुसार ग्यास आपूर्ति नभएको बताएका थिए । त्यसपछि समस्या आपूर्तिमा मात्र नभई वितरण प्रणालीमा समेत रहेको निष्कर्ष निकाल्दै समाधानका लागि सम्बन्धित निकायबीच समन्वय बढाइयो ।
जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका, नेपाल आयल निगम, प्रहरी प्रशासन, ग्यास उद्योग तथा विक्रेतासँग छलफल अघि बढाइयो । भदौ एक गते भएको छलफलपछि भदौ दुई गतेदेखि ग्यास वितरणमा कुपन प्रणाली लागू गर्ने निर्णय भयो । कुपनमा उपभोक्ताको नाम, ठेगाना र फोन नम्बर दर्ता गर्ने तथा क्रमअनुसार ग्यास वितरण गर्ने व्यवस्था मिलाइयो । विक्रेतालाई वितरणको अभिलेख राख्न पनि भनियो । यसबाट एउटै व्यक्तिले पटक–पटक ग्यास लैजाने र वास्तविक उपभोक्ता ग्यासबाट वञ्चित हुने समस्या कम गर्न सहयोग पुगेको थियो ।
अभावका बेला प्रियासनको मोबाइलमा दिनभर उपभोक्ताका फोन आउने गरेका थिए । ‘ग्यास कहाँ पाइन्छ ?’ कुपन कसरी बनाउने ? र ‘आज ग्यास आउँछ कि आउँदैन ?’ जस्ता प्रश्न लिएर उपभोक्ताले सम्पर्क गर्थे । कतिपयले घरमा बिरामी वा सुत्केरी रहेको भन्दै तत्काल ग्यास आवश्यक भएको बताउँथे । दाङमा गरिएको यो पहलले संकटका बेला सम्बन्धित निकाय, व्यवसायी र नागरिकबीचको समन्वयबाट समस्या व्यवस्थापन गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।









