डोल्पा । रसुवाको भोटेकोशी क्षेत्रमा भदौमा आएको बाढी– पहिरोबाट भएको क्षतिबाट पाठ सिक्दै डोल्पामा सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी, पहिरो, भूकम्पलगायत विपद्बाट हुन सक्ने जनधन तथा भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
बैठकले राहत, उद्धार, स्रोतसाधन व्यवस्थापन, जोखिम पूर्वानुमान तथा विभिन्न निकायको जिम्मेवारी समेटिएको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुमोदन गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक स्रोतसाधनको व्यवस्थापन, उद्धार तथा राहतको तयारी र सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।
बैठकले विपद् प्रभावित १० जनालाई राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ । ठुलीभेरी नगरपालिकाका विभिन्न वडामा वर्षा, पहिरो र भूकम्पका कारण घर तथा भौतिक संरचनामा क्षति पुगेको विवरण बैठकमा प्रस्तुत गरिएको थियो । संग्राम शार्दुल गुल्म, सुलिगाड डोल्पाले तयार पारेको विपद्सम्बन्धी प्रस्तुतीकरण पनि अनुमोदन गरिएको छ । गुल्मका मेजर नरेश विष्टले सम्भावित जोखिम, पूर्वतयारी, प्रतिकार्य तथा विपद्का समयमा विभिन्न निकायको भूमिकाबारे जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले विपद् आउनुअघि नै आवश्यक तयारी, स्रोत व्यवस्थापन र जिम्मेवारी स्पष्ट गर्न सके क्षति न्यूनीकरणमा सहयोग पुग्ने बताइन् । जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायाले विपद् व्यवस्थापन सबै तहका सरकार र सम्बन्धित निकायको साझा जिम्मेवारी भएको बताए । बैठकले विपद्पछि उद्धार र राहतमा मात्र निर्भर नभई जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिने निष्कर्ष निकालेको छ ।









