हुम्ला । जिल्लाकाे चङ्खेली गाउँपालिका ६ का सातवटा बस्तीका स्थानीय विगत १० महिनादेखि विद्युत् सेवाबाट वञ्चित भएका छन् । खापर खोला लघुजलविद्युत् आयोजनाको पावर हाउसमा जडान गरिएको मेसिन बिग्रिएपछि मर्मत हुन नसक्दा गाउँहरू अन्धकारमा बस्न बाध्य भएका हुन् । स्थानीयका अनुसार करिब चार करोड रुपैयाँ लागतमा निर्माण गरिएको ५० किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएको दुई महिनामै बिग्रिएको थियो ।
लामो समयसम्म मर्मत नहुँदा विद्युत् आयोजनाका संरचना प्रयोगविहीन बन्न थालेका छन् । मासिधाराका स्थानीय भक्तबहादुर शाहीका अनुसार विद्युत् नहुँदा राति गाउँमा आवतजावत गर्नसमेत समस्या भएको छ । आर्थिक अवस्था राम्रो भएका परिवारले सोलार प्रयोग गरिरहेका छन् भने विपन्न परिवारले सल्लाको दियालो बालेर रात बिताउने गरेका छन् ।
मोबाइल चार्ज गर्नसमेत गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता रहेको उनले बताए । विद्युत् अवरुद्ध हुँदा पुमा, चरिगाउँ, कोर्का, मासिधारा, मेल्छाम, निमा गाउँ र रात्तीका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयको कामसमेत प्रभावित भएको स्थानीय दत्त बुढाले बताए ।
मेल्छाम स्वास्थ्यचौकीका संयोजक हर्क बुढाका अनुसार स्वास्थ्यचौकीमा सोलारको सहायताले सामान्य काम सञ्चालन भइरहेको भए पनि अन्य बस्तीमा विद्युत् सेवा पूर्ण रूपमा बन्द छ । उनले स्थानीय तहबाट मर्मतको पहल नभए प्रदेश सरकारले आवश्यक कदम चालेर आयोजना पुनः सञ्चालनमा ल्याउनुपर्ने माग गरे । विद्युत् अभावको असर विद्यालयमा समेत परेको छ । हिमालय माध्यमिक विद्यालयले प्रश्नपत्र छपाइलगायतका कामका लागि बाहिर निर्भर हुनुपरेको जनाएको छ ।
स्थानीयले पटक–पटक गाउँपालिकासँग आयोजना मर्मतका लागि आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । विद्युत् संरचना प्रयोगयोग्य अवस्थामै रहेकाले समयमै मर्मत नगरे थप क्षति हुने उनीहरूको चिन्ता छ । स्थानीयले तत्काल प्राविधिक टोली पठाएर मेसिन मर्मत गरी विद्युत् सेवा पुनः सञ्चालन गर्न माग गरेका छन् ।









