२०८३ असोज १ , बिहीबार

डोल्पामा स्वास्थ्य सेवा अझै चुनौतीपूर्ण



डोल्पा । हिमाली जिल्ला डोल्पामा स्वास्थ्य संस्था विस्तार हुँदै गए पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा चुनौती कायमै रहेको छ । जिल्लामा ५२ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहे पनि अझै प्राथमिक स्वास्थ्य केन्द्र भने छैन । भौगोलिक विकटता, दक्ष जनशक्तिको अभाव, औषधि तथा उपकरणको कमी र घरमै सुत्केरी हुने अवस्थाले स्वास्थ्य सेवाको पहुँचमा समस्या देखिएको हो ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले सदरमुकाम दुनैमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा प्रस्तुत तथ्यांकले यस्तो अवस्था देखाएको हो । कार्यालयका अनुसार जिल्लामा जिल्ला अस्पताल, एक सामुदायिक फेमिली अस्पताल, २३ स्वास्थ्य चौकी, २० आधारभूत स्वास्थ्य सेवा केन्द्र सात सामुदायिक स्वास्थ्य एकाइ, १९ बर्थिङ सेन्टर र २४ क्षयरोग उपचार केन्द्र छन् । जिल्लाको कुल जनसंख्या ४३ हजार तीन सय ६४ रहेको छ ।

स्वास्थ्य संस्था र बर्थिङ सेन्टर विस्तार भए पनि सबै गर्भवती महिला संस्थागत प्रसूति सेवामा पुग्न सकेका छैनन् । गत आर्थिक वर्षमा मात्रै जिल्लाभर ६० जना महिलाले घरमै सुत्केरी भएको कार्यालयले जनाएको छ । काइके, मुड्केचुला र ठुलीभेरीका केही क्षेत्रमा घरमै सुत्केरी हुने अवस्था अझै रहेको छ । जगदुल्ला गाउँपालिकामा भने घरमै सुत्केरी हुने संख्या शून्य रहेको तथ्यांकमा उल्लेख छ । गोष्ठीमा डोल्पाका आठवटै स्थानीय तहले स्वास्थ्य कार्यक्रमको प्रगति, सेवा पहुँच र स्वास्थ्य अवस्थाबारे समीक्षा गरेका थिए ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक डा. सिजन रावलले त्रिपुरासुन्दरी, मुड्केचुला र माथिल्लो डोल्पाको धो क्षेत्रमा अस्पताल आवश्यक रहेको बताए । आगामी वर्ष मातृ तथा नवजात शिशु मृत्यु घटाउने, पूर्ण संस्थागत प्रसूति सेवा सुनिश्चित गर्ने, परिवार नियोजन विस्तार गर्ने तथा स्वास्थ्य संस्थालाई पोषण र किशोरकिशोरीमैत्री बनाउने लक्ष्य तय गरिएको छ । उत्कृष्ट कार्यसम्पादन गरेको छार्का ताङसोङ गाउँपालिकाको स्वास्थ्य शाखालाई पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार