२०८३ भदौ ५ , शुक्रबार

रानी खर्कमा बढ्दै आन्तरिक पर्यटक



हुम्ला । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय क्षेत्र रानी खर्कमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय प्रचारप्रसारसँगै हिल्सा–सिमकोट सडकबाट रानी खर्क नजिकैसम्म सडक निर्माण भई यातायात सेवा सञ्चालन भएपछि पर्यटकको संख्या बढेको हो । एक साताअघि रानी खर्क पुगेकी आन्तरिक पर्यटक सुहाना हमालले आठ जनाको समूहमा एक रात बसेर प्राकृतिक सौन्दर्यको मनोरञ्जन लिएको बताइन् ।

वातावरण सफा र रमणीय भएकाले रानी खर्क पुगेपछि छुट्टै अनुभूति हुने उनको भनाइ छ । केही दिनअघि २० सदस्यीय टोलीसहित रानी खर्क पुगेका सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले पर्यटक बढ्नु स्वाभाविक भएको बताए । क्षेत्रको थप प्रचारप्रसार र प्रवर्द्धन गर्न सके आन्तरिकसँगै बाह्य पर्यटकसमेत बढ्ने उनको विश्वास छ ।

हाल नाम्खा गाउँपालिका तिन खगालगाउँ हुँदै निर्माण भएको सडक रानी खर्कसम्म पुगिसकेको छैन । सडक पुगेको स्थानबाट करिब साढे दुई घण्टा पैदल हिँड्नुपर्ने अवस्था छ । रानी खर्कसम्म सडक विस्तारसँगै खाने, बस्ने लगायत आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने माग गरिएको छ । अहिले त्यहाँ पुग्ने पर्यटकले आवास तथा खानाको व्यवस्था आफैं गर्नुपर्ने बाध्यता छ ।

रानी खर्कमा पर्यटकसँगै खार्पुनाथ, सर्केगाड, सिमकोट र नाम्खाका किसानले भेडा तथा चौरी चराउने गरेका छन् । भेडा र चौरीका बथानले समेत पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । हालसम्म करिब १२ पर्यटक समूह रानी खर्क पुगिसकेको बताइएको छ । समुद्री सतहबाट चार हजार दुई सय देखि चार हजार छ सय मिटर उचाइमा रहेको रानी खर्कमा ताल, नदी, बुकी फूल, जङ्गली जनावर तथा सैपाल हिमालको दृश्यावलोकन गर्न सकिन्छ। मौसम अनुकूल रहे आगामी असोजसम्म पर्यटकले भ्रमण गर्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार