२०८३ भदौ ५ , शुक्रबार

जुम्लाको हाट सिंजामा फोर–जी सेवा सुरु



जुम्ला । नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने जुम्लाको हाट सिंजा क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा सञ्चालनमा ल्याएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा नयाँ मोबाइल टावर स्थापना गरी सेवा सुरु गरिएको हो । नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं तिन, चार, पाँच, छ र आठका विभिन्न क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ ।

टावरबाट गौरी, ओखरवाडा, हाट सिंजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सञ्चार सेवा विस्तार भएको छ । टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको टेलिकमले जनाएको छ । विद्युत् जडान तत्काल सम्भव नभएपछि सोलार ब्याट्री प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको हो ।

दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारी योजनाअनुसार उच्च हिमाली तथा ग्रामीण क्षेत्रमा फोर–जी सेवा विस्तार भइरहेको छ । बाजुराको बडीमालिका क्षेत्र र सगरमाथा आधार शिविरमा समेत सेवा विस्तारको काम अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ । यसअघि डोल्पाको ल्हान, दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलालगायत उच्च हिमाली क्षेत्रमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ ।

सरकारले डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने लक्ष्यसहित दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ । देशभर करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ  । ग्रामीण क्षेत्रमा सञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा रु. छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार