कालिकोट । लगातारको वर्षासँगै गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि सडक अवरुद्ध हुँदा जुम्ला, मुगु, कालिकोट तथा कर्णाली करिडोरतर्फ जाने–आउने दर्जनौँ सवारीसाधन बाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शुभकालिका गाउँपालिका एक स्थित गगने खोलामा राति करिब सात बजेदेखि पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको हो ।
रातभर वर्षा भइरहेकाले पहिरो तत्काल पन्छाउन नसकिएको र पानी रोकिएपछि बिहानदेखि सडक खुलाउने प्रयास थालिएको प्रहरीले जनाएको छ । लगातार माथिबाट ढुंगा र माटोसहितको पहिरो झरिरहेकाले सडक डिभिजन कार्यालयको जेसीभी मेसिन नजिकै रहे पनि काम गर्न कठिनाइ भएको बताइएको छ । सडक अवरुद्ध भएपछि सुर्खेतबाट आएका सवारीसाधन खिड्कीज्युला क्षेत्रमा रोकिएका छन् भने जुम्ला, मुगु तथा कालिकोटका विभिन्न क्षेत्रबाट आएका गाडीसमेत बाटोमै अलपत्र परेका छन् ।
जुम्ला जाने क्रममा पहिरोका कारण दैलेखको मालाचौरमा फर्केर बस्नुपरेको यात्रु मानवबहादुर कार्कीले यात्रुहरूलाई खानपिनसमेत समस्या भएको बताए । लामो समय सडक अवरुद्ध हुँदा यात्रु तथा चालकहरू समस्यामा परेका छन् । गगने खोलाको पहिरो कालिकोटमा हरेक वर्ष वर्षायाममा दोहोरिने समस्या हो। गत वर्ष असारदेखि भदौ पाँच गतेसम्म मात्रै उक्त स्थानमा २९ पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यस वर्ष पनि पानी पर्नेबित्तिकै लेदोसहितको पहिरो खस्न थालेको प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए ।
सडक डिभिजन कार्यालयले पहिरो व्यवस्थापनका लागि जुम्ला सडकखण्डमा दुई र कर्णाली करिडोरमा दुईवटा मेसिन तयारी अवस्थामा राखेको जनाएको छ । गगने खोलाको पहिरो नियन्त्रण गर्न दुई वर्षअघि करिब तीन करोड रुपैयाँ लागतमा निर्माण गरिएको ग्याबिन पर्खालसमेत गत वर्षको पहिरोले बगाइसकेको छ । दीर्घकालीन समाधानका लागि प्रभावकारी भू–संरक्षण तथा सडक सुरक्षाका पूर्वाधार आवश्यक देखिएका छन् ।









