२०८३ भदौ ५ , शुक्रबार

डोल्पाको कु गाउँमा आठदिने दुग्त्सी मेन्द्रुप पूजा सुरु



डोल्पा । शे–फोक्सुन्डो गाउँपालिका सात कु गाउँमा आठदिने दुग्त्सी मेन्द्रुप पूजा सुरु भएको छ । तिब्बती पात्रोअनुसार सातौँ महिनाको आठ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यस पूजालाई स्थानीय बौद्ध धर्मावलम्बीले अमृत औषधि सिद्धिको धार्मिक अनुष्ठानका रूपमा लिने गरेका छन् । पूजामा कु गाउँका स्थानीयसँगै डोल्पाका विभिन्न क्षेत्रबाट आएका श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहेको छ ।

दोर्जे फुर्बा मण्डलमा आधारित धार्मिक अनुष्ठान परमपूज्य कोमाङ चोक्ट्रुल दोर्जे छेवाङ रिन्पोछे तथा गेलोङ धार्केको नेतृत्वमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ । डोल्पाली बौद्ध समुदायका श्रद्धेय आध्यात्मिक गुरुका रूपमा परिचित कोमाङ चोक्ट्रुल दोर्जे छेवाङ रिन्पोछेको नेतृत्वमा हुने पूजालाई स्थानीयले धार्मिक आस्था, आध्यात्मिक साधना र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण अवसरका रूपमा लिने गरेका छन् ।

कु गाउँका वडा अध्यक्ष पेम्म छिरिङ गुरुङका अनुसार पूजाको मुख्य उद्देश्य सर्वसाधारणको सुख, शान्ति, दीर्घायु, आरोग्य तथा समृद्धिको कामना गर्नुका साथै बौद्ध धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु हो । पूजा समारोहमा विभिन्न स्थानबाट आएका लामा गुरु, भिक्षु–भिक्षुणी, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा श्रद्धालु भक्तजन सहभागी छन् ।

धार्मिक अनुष्ठानले डोल्पाको मौलिक बौद्ध संस्कृति र परम्पराप्रति नयाँ पुस्ताको आकर्षण बढाउने विश्वास स्थानीयले गरेका छन् । दुग्त्सी मेन्द्रुप पूजा धार्मिक आस्थासँगै डोल्पाको हिमाली बौद्ध सभ्यता, सांस्कृतिक पहिचान र सामुदायिक एकताको महत्वपूर्ण प्रतीकका रूपमा समेत लिइन्छ। आठ दिनसम्म चल्ने पूजाले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार