सुर्खेत । भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा आयोजित विशेष रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी अन्तर्राष्ट्रिय पूर्वमुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्यस्मृति तथा विश्व बन्धुत्व दिवसको अवसरमा राष्ट्रियव्यापी रूपमा सञ्चालन गरिएको ‘विश्व बन्धुत्व रक्तदान अभियान’अन्तर्गत बिहीबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरू पनि उत्साहपूर्वक सहभागी भएका थिए । दउती विद्या मन्दिर, शारदा माध्यमिक विद्यालय, छिन्चु बोर्डिङलगायतका विद्यार्थी तथा अन्य व्यक्तिहरूले रक्तदान गरेका आयोजकले जनाएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा भएको कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, पूर्वकर्णाली प्रदेशसभा सदस्य अमृता शाही, प्याब्सन नेपाल कर्णाली प्रदेशका प्रमुख एवं प्रिन्सिपल नोकबहादुर खत्री, वरिष्ठ कविराज निरीक्षक छवीलाल खड्का, भेरीगंगा जेसीजका अध्यक्ष श्याम परियार, पूर्वअध्यक्ष रामु सुवेदीलगायतको सहभागिता थियो ।
त्यस्तै शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी भट्टराई, छिन्चु उपत्यका खानेपानी संस्थाका अध्यक्ष धर्मराज खड्का, नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकका सहायक इन्चार्ज विकास गिरीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राजयोगिनी डा. दादी प्रकाशमणिको जीवन तथा योगदान र रक्तदानको महत्वबारे जानकारी गराइएको थियो । आयोजकका अनुसार रक्तदानले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहयोग पुर्याउनुका साथै सामाजिक सेवाको भावना विकास गर्नसमेत योगदान पुर्याउँछ ।
कार्यक्रमको सञ्चालन भेरीगंगा छिन्चु शाखा प्रमुख ब्रह्माकुमारी आरतीले गरेकी थिइन् । उनले कार्यक्रममा रक्तदानसमेत गरेकी थिइन् ।








