२०८३ भदौ १२ , शुक्रबार

चिङ्गाडका कर्मचारीले बाढीपीडितलाई सहयोग गर्ने



सुर्खेत । चिङ्गाड गाउँपालिकाका कर्मचारीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनामा सहयोग गर्ने भएका छन् । गाउँपालिकाले राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अनुसार गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सेवा केन्द्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीको तीन दिन बराबरको पारिश्रमिक कट्टा गरिनेछ । त्यस्तै, श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिने जनाएको छ ।

भदौ १० गते आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ । बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि संघीय र प्रदेश सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विभिन्न मानवीय संस्थाले गरेको प्रयासको गाउँपालिकाले प्रशंसा गरेको छ ।

प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक राहत सामग्री तत्काल पुर्‍याउन सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ । मौसम अझै पूर्ण रूपमा अनुकूल नभएको र बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले गाउँपालिकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा नबस्नसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार