२०८३ भदौ १३ , शनिबार

बाढीपीडितका लागि कुमाख गाउँपालिकाले गर्याे दुई लाख ५० हजार सहयाेग



सल्यान । रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सल्यानको कुमाख गाउँपालिकाले दुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति गाउँपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

गाउँपालिकाले बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै, घाइतेको सहज तथा प्रभावकारी उपचारको व्यवस्था गर्न र बाढीका कारण विस्थापित भएका नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न आवश्यक पहल गर्नसमेत आग्रह गरिएको छ ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष लालबहादुर रावतले विपद्को कठिन समयमा प्रभावित नागरिक तथा परिवारलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । उनले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न गाउँपालिका तयार रहेको उनकाे भनाइ छ ।  कुमाख गाउँपालिकाले आफ्नो क्षेत्रभन्दा बाहिर भए पनि विपद्मा परेका नागरिकप्रति मानवीय संवेदना देखाउँदै आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ । गाउँपालिकाको यो सहयोगले बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार