सुर्खेत । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रोजगारी तथा ज्याला मजदुरीका लागि रसुवा पुगेका कर्णाली प्रदेशका दुई सयभन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये केही सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी छन् भने अधिकांश रोजगारी र मजदुरीका लागि रसुवा पुगेका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार आएको बाढीपछि बिहीबारसम्म उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् ।
प्रहरीका अनुसार जुम्लाका ७०, सल्यानका एक सय चार, हुम्लाका नौ, मुगुका १५, सुर्खेतका १६, दैलेखका सात, कालीकोटका नौ, रुकुमपश्चिमका १२, जाजरकोटका तीन र डोल्पाका दुई जना सम्पर्कविहीन छन् । कर्णालीका जिल्लामध्ये सल्यानबाट सबैभन्दा धेरै नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिकाका १५, वनगाड कुपिण्डे नगरपालिकाका ११, कुमाख गाउँपालिकाका सात, त्रिवेणी गाउँपालिकाका आठ, शारदा नगरपालिकाका पाँच तथा सिद्धकुमाख, कालिमाटी र बागचौरका दुई–दुई जना सम्पर्कविहीन छन् ।
वनगाड कुपिण्डे नगरपालिकाका दुई जना घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ । मुगुबाट रोजगारीका लागि रसुवा पुगेका १५ जना पनि बाढीपछि सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सोरु गाउँपालिका, छायानाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका विभिन्न व्यक्तिहरूको अवस्था अज्ञात रहेको छ ।
मानसरोवर तीर्थयात्राबाट फर्किने क्रममा रसुवामा हेलिकोप्टरको प्रतीक्षामा रहेका मुगुका एक परिवारसमेत सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । त्यस्तै, हुम्लाका नौ, कालीकोटका नौ, रुकुमपश्चिमका १२, दैलेखका सात र जाजरकोटका तीन जना सम्पर्कविहीन रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ । सुर्खेतबाट १६, डोल्पाबाट दुई तथा अन्य जिल्लाबाट समेत नागरिक सम्पर्कविहीन भएको जनाइएको छ ।
बाढीपछि सम्पर्कविहीन भएकाहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ । परिवारजनले आफ्ना आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न र उद्धार कार्य प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । प्रहरीले पनि प्राप्त विवरणका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा पहिचानका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ ।









