सल्यान । परम्परागत खेतीबाट अपेक्षित आम्दानी हुन नसक्दा खेतीयोग्य जमिन बाँझिँदै गएका बेला सल्यानमा ओखर खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने अभियान सुरु भएको छ । शारदा नगरपालिकाले किसानलाई ओखर खेतीतर्फ आकर्षित गर्दै यसलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउने योजना अघि सारेको हो । नगरपालिकाका विभिन्न वडाका किसान सामूहिक तथा व्यक्तिगत रूपमा ओखर खेतीमा जुटेका छन् । गत वर्ष एक सय ४० रोपनी क्षेत्रफलमा व्यावसायिक ओखर खेती सुरु गरिएकोमा यस वर्ष थप क्षेत्र विस्तार गरी एक हजार रोपनीमा पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ ।
नगरप्रमुख प्रकाश भण्डारीका अनुसार उच्च मूल्यको ओखर खेतीबाट किसानको आय वृद्धि गर्नुका साथै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र नगरपालिकाको आर्थिक गतिविधि बढाउने उद्देश्य छ । स्थानीय हावापानी ओखर उत्पादनका लागि अनुकूल भएकाले यसको व्यावसायिक सम्भावना राम्रो रहेको उनकाे भनाइ छ । शारदा नगरपालिका–१० मदानाका अगुवा किसान टुल्कबहादुर कँवरसहित पाँच जना किसानले ६० रोपनी जमिनमा सामूहिक रूपमा ओखर खेती गरेका छन् । त्यस्तै वडा नं. नाै को खोलीखोला, वडा नं. चारको सुनटाकुरा, वडा नं. पाँचको रानीकोट र वडा नं. तिनको सिरुवारमा समेत ओखर खेती विस्तार गरिएको छ ।
नगरपालिकाका कृषि विकास शाखा प्रमुख कविराज ज्ञवालीका अनुसार गत वर्ष नगर क्षेत्रका विभिन्न स्थानमा कुल एक हजार तिन सय ७० रोपनीमा ओखर खेती गरिएको थियो । उक्त क्षेत्रबाट ६० हजार पाँच सय २० किलो ओखर उत्पादन भएको तथ्याङ्क छ । नयाँ बोट उत्पादनमा आउन समय लाग्ने भएकाले अहिले व्यावसायिक उत्पादन क्रमशः बढ्दै जाने उनले बताए । ओखर खेती विस्तारका लागि नगरपालिकाले पहाडी क्षेत्र काष्ठ फलफूल विकास आयोजनासँग सहकार्य गरिरहेको छ। किसानलाई प्राविधिक तथा अनुदान सहयोगसमेत उपलब्ध गराइएको छ ।
बाँझिँदै गएको जमिनलाई उत्पादनमा जोड्ने, किसानलाई दीर्घकालीन आम्दानीको आधार तयार गर्ने र स्थानीय उत्पादनको पहिचान स्थापित गर्ने उद्देश्यले ओखर खेतीलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ । युवा जनशक्ति रोजगारीका लागि बाहिरिने र परम्परागत खेतीको लागत बढ्दै जाने अवस्थामा कम श्रममा दीर्घकालीन आम्दानी दिन सक्ने फलफूल खेतीतर्फ किसानलाई आकर्षित गर्नु आवश्यक देखिएको छ ।









