२०८३ भदौ १३ , शनिबार

बाढीपीडितका लागि सुर्खेतको बौद्धिक एजुकेसन एकेडेमीद्वारा २५ हजार रुपैयाँ सहयोग



सागर रावल

सुर्खेत । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि बौद्धिक एजुकेसन एकेडेमी सुर्खेत परिवारले प्रधानमन्त्री राहत कोषमा २५ हजार १ सय ५ रुपैयाँ सहयोग गरेको छ।

एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषको कृषि विकास बैंकको क्यूआर कोडमार्फत हस्तान्तरण गरेको जनाएको हो।

एकेडेमीले जारी गरेको सूचनामा २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र नवलपरासी लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ। बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरिएको छ।

विपद्का कारण प्रभावित नागरिकको खोजी तथा उद्धारसँगै तत्कालीन राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने एकेडेमीको भनाइ छ। सोही भावनाअनुसार एकेडेमी परिवारबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। राहत सहयोगलाई औपचारिकता दिन तथा रकम हस्तान्तरण गर्ने अभियानमा कर्णबहादुर मल्लको संयुक्त पहल रहेको एकेडेमीले जनाएको छ।

एकेडेमीले विपद्को समयमा मानवीय सहयोग कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र दायित्व नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ। बाढीबाट प्रभावित परिवारलाई राहत तथा उद्धारसँगै उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न सबै क्षेत्र र समुदायलाई आ–आफ्नो स्थानबाट योगदान गर्न पनि आग्रह गरिएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका लागि सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले आ–आफ्नो तर्फबाट काम गरिरहेका छन्। यस्तो अवस्थामा विद्यालय तथा शैक्षिक संस्थाबाट हुने सहयोगले विपद्मा परेका नागरिकप्रतिको सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाउने देखिन्छ।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार