जुम्ला । पातारासी गाउँपालिका ६ घोडेसिमका महिलाको जीवनस्तर व्यावसायिक तरकारी खेतीसँगै बदलिन थालेको छ । परम्परागत खेतीमा सीमित महिलाहरू पछिल्लो समय आधुनिक प्रविधि, वित्तीय साक्षरता र बजारीकरणको सीप सिकेर व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । विगत ३० वर्षदेखि तरकारी खेती गर्दै आएकी चुकि महतारा व्यवसायिक खेतीबाट आम्दानी बढेको बताउँछिन् ।
मौसमअनुसारको खेती, रोग तथा किरा नियन्त्रण, नर्सरी व्यवस्थापन, गोडमेल, बजारीकरण र वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पाएपछि खेती गर्न सहज भएको उनको भनाइ छ । “पहिला तमाखु रोप्ने खेतमा अहिले तरकारी लगाउँछौं । घरमा खान पनि पुग्छ, बिक्री गरेर आम्दानी पनि हुन्छ,” महताराले भनिन्। घोडेसिमकै रामकली बोहोराले पनि आलु, प्याज, टमाटर र गाँजर उत्पादन गरी घरखर्च चलाउँदै आएकी छन् ।
किर्डाक नेपालमार्फत वित्तीय साक्षरता तथा बजारीकरणको सीप पाएपछि उत्पादन लागत, खर्च, आम्दानी र बचतको हिसाब आफैं राख्न थालेको उनले बताइन् । व्यावसायिक कृषिले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै परिवारमा उनीहरूको निर्णय क्षमता समेत बढाएको महिला किसान चन्द्रा बुढाको अनुभव छ ।
वल्डभिजन र किर्डाक नेपालको सहयोगमा सञ्चालित फूलबारी तरकारी उत्पादन समूहमा आबद्ध महिलाले सामूहिक उत्पादन, बिक्री तथा मासिक बचत गर्दै आएका छन् । मंगलबार जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा घोडेसिमका महिलाको कृषि गतिविधिको अनुगमन गरिएको थियो । अनुगमनमा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं र प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईलगायत सहभागी थिए ।
संकलन केन्द्रको माग
तरकारी उत्पादन बढे पनि उचित बजार र मूल्य नपाउँदा किसान समस्यामा छन् । महिलाले बिहानै डोकोमा तरकारी बोकेर बजार पुग्नुपर्ने बाध्यता अझै कायमै छ । स्थानीय महिलाले उर्थुचौतारामा संकलन केन्द्र स्थापना गर्न माग गरेका छन् । साथै हातेट्याक्टर तथा मिनिटिलर मर्मत, जैविक मल उत्पादन र अनुभव आदानप्रदान भ्रमणका लागि तालिमको माग गरिएको छ । वल्डभिजनका प्रतिनिधि भेषबहादुर रावलले स्थानीय तहले सञ्चालनसम्बन्धी नीति बनाए संकलन केन्द्र स्थापना गर्न आफूहरू तयार रहेको बताए । उनले आवश्यक तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए ।









