२०८३ भदौ ३१ , बुधबार

पाँच वर्षमा पनि बनेन अस्पताल भवन



दैलेख । निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि जिल्ला अस्पताल दैलेखको ५० शय्याको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन । पटक–पटक म्याद थपिँदा पनि निर्माणले गति लिन नसक्दा बिरामीले पुरानै साँघुरो भवनबाट सेवा लिनुपर्ने बाध्यता छ । २०७८ जेठ १० गते निर्माण सुरु भएको भवन २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने सम्झौता थियो । १८ करोड २३ लाख ९९ हजार तिन सय ८१ रुपियाँ लागतमा श्री प्रेरा/क्याराभान/सुपर स्टार जेभीले निर्माणको जिम्मा लिएको हो । तर निर्धारित समय सकिएको दुई वर्ष बितिसक्दा पनि भवनको भौतिक प्रगति करिब ७५ प्रतिशत मात्रै रहेको छ ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसकेपछि दोस्रो पटक थपिएको म्याद २०८२ फागुन मसान्तसम्म कायम गरिएको थियो । त्यस अवधिमा पनि काम नसकिएपछि तेस्रो पटक २०८३ भदौ मसान्तसम्म म्याद थपिएको थियो । तेस्रो म्यादसमेत सकिएपछि निर्माण कम्पनीले चौथो पटक म्याद थपका लागि निवेदन दिएको जिल्ला स्वास्थ्यसेवा कार्यालय दैलेखका व्यवस्थापक डा. मनोज विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार भदौ १५ गते म्याद थपको निवेदन आएको हो । म्याद थपको अधिकार कार्यालयलाई छैन । मन्त्रालयले के निर्णय गर्छ, त्यो हेर्न बाँकी छ उनले भने । भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालमा शय्या अभाव भएको छ । १५ शय्याको स्वीकृत क्षमता रहेको अस्पतालले हाल ५१ शय्यासम्म सेवा दिइरहेको छ । पर्याप्त पूर्वाधार नहुँदा कतिपय बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको डा. विश्वकर्माले बताए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले निर्माणमा भएको ढिलाइ गम्भीर विषय भएको बताए । सम्झौता अनुसार काम नभए ठेक्का तोड्नेसम्मको कानुनी व्यवस्था रहेको उनकाे भनाइ छ । निर्माण व्यवसायी ताराकुमारी शाहीले काम निरन्तर भइरहेको दाबी गर्दै बाहिरबाट ल्याइएका कामदार टिक्न नसक्दा निर्माण प्रभावित भएको बताए ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार