२०८३ भदौ ३१ , बुधबार

पहिरोले हुम्लाका ग्रामीण सडक अस्तव्यस्त



हुम्ला । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले हुम्लाका ग्रामीण सडकहरू अस्तव्यस्त बनेका छन् । कर्णाली करिडोरबाट सहायक सडकका रूपमा निर्माण गरिएका अधिकांश ग्रामीण सडकमा पहिरो खस्ने, सडक बगाउने र ठुल्ठुला खाल्टाखुल्टी पर्ने भएपछि यातायात सञ्चालनमा समस्या भएको छ ।

सिमकोट–हिल्सा सडकबाट याङ्गुसाँता जोड्ने सिमकोट गाउँपालिका आठको सहायक सडक वर्षाको भेलले बगाएपछि यातायात प्रभावित भएको वडाध्यक्ष कमल बुढाले बताए । नयाँ निर्माण गरिएका सडकसमेत वर्षाले क्षति पुर्‍याउँदा यात्रु र सवारी चालकले जोखिमपूर्ण यात्रा गर्नुपरेको उनकाे भनाइ छ । सिमकोट गाउँपालिका एक देखी तीन जोड्ने सडकमा समेत पहिरोले क्षति पुर्‍याएको छ ।

वडा नं‍ दुईका अध्यक्ष देवजन बोहोराका अनुसार दुई वटा ग्रामीण सडकमा ठुल्ठुला खाल्डा परेपछि ढुङ्गा भरेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था छ ।  सडकको अवस्था जोखिमपूर्ण भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न उनले आग्रह गरेका छन् । यसैगरी सर्केगाड गाउँपालिका पाँच र ६ जोड्ने ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त बनेका छन् ।

पूर्ववडाध्यक्ष कर्णजङ्ग शाहीका अनुसार लगातारको वर्षाका कारण गाउँपालिकाका आठवटै वडा जोड्ने सडकको अवस्था नाजुक बनेको छ । ताँजाकोट गाउँपालिका चार र पाँच जोड्ने सडकमा पनि पहिरोले क्षति पुर्‍याएको स्थानीय गोपाल बुढाले बताए ।  कतिपय सडक मर्मत नगरी यातायात सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका छन् ।

खार्पुनाथ गाउँपालिका एक र पाँच जोड्ने सडकसमेत पहिरोले भत्काएको छ । सडक जोखिमपूर्ण भए पनि चालकले जिप सञ्चालन गरिरहेका छन् । प्रहरीका अनुसार चार दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लाका करिब दुई दर्जन ग्रामीण सडकमा क्षति पुगेको छ । पहिरोले क्षतिग्रस्त सडकको तत्काल मर्मत नहुँदा यातायात सेवा थप प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार