दिलिप कंडेल
सुर्खेत । चौकुने गाउँपालिकाका एक एम्बुलेन्स चालकलाई सर्पले डसेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । सर्पदंशपछि उपचारका लागि प्रदेश अस्पताल पुर्याइएका चालकलाई हाल आईसीयू अर्थात् सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
प्रदेश अस्पतालको इमर्जेन्सी विभागका प्रमुख डा. सरोजकुमार गिरीका अनुसार सर्पदंशपछि चालकलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको हो ।
उनका अनुसार बिरामीलाई एएसभी अर्थात् सर्पको विषविरुद्ध प्रयोग गरिने एन्टिस्नेक भेनम सुरु गरिएको छ । हाल उपचाररत चालकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको डा. गिरीले जानकारी दिएका छन् । घटनाबारे जानकारी पाएपछि चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपाने प्रदेश अस्पताल पुगेर उपचाररत एम्बुलेन्स चालकसँग भेटघाट गरेका छन् । अध्यक्ष वासपानेले चालकको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
विशेषगरी ग्रामीण क्षेत्रमा खेतबारी, झाडी, गोठ तथा घर वरपर सर्पको जोखिम हुने भएकाले काम गर्दा र हिँडडुल गर्दा सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । वर्षायाम तथा गर्मी मौसममा सर्पहरू बाहिर निस्कने सम्भावना बढी हुने भएकाले रातको समयमा हिँड्दा टर्चको प्रयोग गर्ने, झाडी तथा घाँसमा हात हाल्दा सावधानी अपनाउने र घर वरपरको वातावरण सफा राख्नसमेत सुझाव दिइएको छ ।
चौकुने गाउँपालिकाका एम्बुलेन्स चालक स्वयं सर्पदंशपछि उपचारका लागि अस्पताल भर्ना हुन पुगेको घटनाले पनि आकस्मिक स्वास्थ्य सेवाको महत्वलाई देखाएको छ । हाल प्रदेश अस्पतालमा उपचाररत चालकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाइएको छ ।









