२०८३ भदौ ३१ , बुधबार

सल्यानमा स्क्रबटाइफसको जोखिम बढ्यो, तीन सातामा चारको मृत्यु



सल्यान । दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण फैलिँदा तीन साताको अवधिमा चार जनाको मृत्यु भएको छ । संक्रमणका कारण स्थानीयमा त्रास बढेको छ भने स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको चापसमेत बढेको छ । दार्मा गाउँपालिका पाँच लयटा ढाँकाडामका ६९ वर्षीय तुलबहादुर खड्गा, वडा नं. ६ मलिवाङका ८२ वर्षीय बलबहादुर थापा र नरबहादुर बुढाथोकी तथा वडा नं. दई सिलिङ्गेका १२ वर्षीय नरेश ओलीको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

उनीहरूको दाङ र नेपालगन्जका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार बिरामीको संख्या बढेपछि स्वास्थ्य कार्यालय सल्यानसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरी परीक्षण गरिएको थियो । किटमार्फत गरिएको परीक्षणमा हालसम्म एक सयभन्दा बढी व्यक्तिमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको उनले बताए ।

अहिले पनि स्वास्थ्य संस्थामा दैनिक तीन–चार जनामा संक्रमण पुष्टि भइरहेको छ । दार्माका देवीराम नेपालीलाई केही दिनसम्म ज्वरो आएपछि सामान्य औषधि सेवन गर्दा निको नभएपछि स्वास्थ्यकर्मीको सल्लाहमा परीक्षण गर्दा स्क्रबटाइफस पुष्टि भएको थियो । औषधि सेवनपछि अहिले स्वास्थ्यमा सुधार आएको उनले बताए ।

स्वास्थ्यकर्मीका अनुसार ज्वरो आएपछि स्वास्थ्य संस्थामा परीक्षण नगराई मेडिकलबाट आफूखुसी औषधि सेवन गर्ने प्रवृत्तिले जोखिम बढाउन सक्छ । त्यसैले लगातार ज्वरो आएमा स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरिएको छ । भल्चौर स्वास्थ्य चौकीमा पनि बिरामीको चाप बढेको छ । स्वास्थ्यकर्मी टेकराज बोहराका अनुसार सामान्य अवस्थामा दैनिक १५ देखि २० जना बिरामी आउने गरेकामा अहिले ३० जनासम्म परीक्षण तथा उपचारका लागि आउने गरेका छन् ।

ज्वरोको औषधि सेवन गर्दा पनि सुधार नभएका बिरामीलाई स्क्रबटाइफसको परीक्षण गर्ने गरिएको उनले बताए । वर्षातको समयमा घाँसपात तथा जंगल क्षेत्रमा काम गर्दा किर्नाको टोकाइबाट स्क्रबटाइफस संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार