२०८३ भदौ ३१ , बुधबार

चौकुनेमा बालसंरक्षणसम्बन्धी तालिम सुरु



सुर्खेत । चौकुने गाउँपालिकामा आपतकालीन अवस्थामा बालसंरक्षण, घटना व्यवस्थापन तथा बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली (CPIMS) सञ्चालनसम्बन्धी तीन दिने तालिम सुरु भएको छ । चौकुने गाउँपालिका स्थानीय बाल अधिकार समितिको आयोजना तथा युनिसेफको सहकार्यमा भदौ ३१ गतेदेखि असोज दुई गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन स्थानीय बाल अधिकार समितिका अध्यक्ष तथा गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाको अध्यक्षतामा भएको हो ।

तालिममा गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं. आठका अध्यक्ष कमलबहादुर जिसी, वडा नं. पाँचका अध्यक्ष तुलाराम हिस्की मगर, वडा नं. १० का अध्यक्ष नन्दराम खनाल, वडा नं. एकका अध्यक्ष जिरक बडुवाललगायत विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिको सहभागिता रहेको छ । विद्यालयका प्रधानाध्यापक, बाल क्लबका अध्यक्ष तथा अन्य सरोकारवालासमेत तालिममा सहभागी छन् ।

राष्ट्रिय बाल अधिकार परिषद्, सुर्खेतका डम्बर रोकाय र युनिसेफका कृष्ण चालिसेले तालिममा सहजीकरण गरिरहेका छन् । रोकायले आपतकालीन तथा विपद्का समयमा बालबालिकामाथि पर्न सक्ने जोखिम, बालसंरक्षणका उपाय, बाल संरक्षणसम्बन्धी घटना व्यवस्थापन तथा CPIMS को प्रभावकारी प्रयोगबारे जानकारी गराए । तालिमका क्रममा सहभागीहरूले विपद्का समयमा आफूहरूले देखेका तथा भोगेका बालसंरक्षणसम्बन्धी घटना र अनुभवसमेत प्रस्तुत गरेका छन् ।

उनीहरूले विपद्का बेला बालबालिका बढी जोखिममा पर्ने भएकाले स्थानीय तहदेखि समुदायस्तरसम्म बाल संरक्षणका प्रभावकारी संयन्त्र आवश्यक रहेको बताएका छन् । तीन दिने तालिमले आपतकालीन अवस्थामा बाल संरक्षणसम्बन्धी घटना पहिचान, सूचना व्यवस्थापन, सरोकारवालाबीच समन्वय तथा आवश्यक संरक्षण सेवामा बालबालिकाको पहुँच सुनिश्चित गर्न सहभागीहरूको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार