२०८३ असोज २० , मंगलबार

मुलपानी–फलाँटे–रानीघाट सडक निर्माण तीव्र, मंसिरमै हस्तान्तरण गर्ने तयारी



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन मुलपानी–फलाँटे–रानीघाट सडकको काम तीव्र गतिमा अघि बढेको छ । निर्माण कम्पनीले तोकिएको समयभन्दा करिब दुई महिना अगावै सडक निर्माण सम्पन्न गरी मंसिर मसान्तभित्रै सडक कार्यालयलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

६ किलोमिटर ८ सय मिटर लामो सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय सुर्खेत र बसना निर्माण सेवा, स्यूना–७ कालिकोटबीच २०८२ वैशाख २२ गते सम्झौता भएको थियो। सम्झौताअनुसार सडक निर्माण २०८३ पुस ३० गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।

तर निर्माण कम्पनीले कामलाई तीव्रता दिँदै हालसम्म ५.२५० किलोमिटर सडक कालोपत्रे गरिसकेको छ । अब करिब डेढ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि केदार शर्माले बताए । ५.२५० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अब मुस्किलले साढे एक किलोमिटर जति सडक निर्माण गर्न बाँकी छ,’ शर्माले भने, ‘कार्यालयबाट भुक्तानीमा ढिलाइ नभए मंसिर मसान्तभित्रै निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गर्छौँ ।

साइट इन्जिनियर दिलीप रानाका अनुसार सडकको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७० प्रतिशत रहेको छ। निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको छ। उहाँहरूको वित्तीय प्रगति ७० प्रतिशत र भौतिक प्रगति झण्डै ८० प्रतिशत पुगेको छ,’ रानाले भने, ‘यही गतिमा काम हुँदै गए समय अगावै निर्माण सम्पन्न हुने देखिन्छ ।

सोमबार सडक निर्माणको अनुगमन गरेका पूर्वाधार विकास कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रविण कार्कीले निर्माण कम्पनीको काम सन्तोषजनक रहेको बताए। उनले सडक निर्माणमा गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै निर्माण सम्पन्न भएपछि भुक्तानीमा समस्या नहुने स्पष्ट पारे ।

‘उहाँहरूले काममा तीव्रता दिइरहनुभएको छ। यसलाई मैले सन्तोषजनक रूपमा लिएको छु,’ कार्कीले भने, ‘निर्माण कार्य गुणस्तरीय हुनुपर्छ । निर्माण सम्पन्न भएपछि रकमान्तर गरेर भए पनि भुक्तानी गर्न हामी तयार छौँ ।

सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। निर्माण कम्पनीले सडक निर्माण सम्पन्न गर्न कार्यालयसँग भ्याटसहित १८ करोड ५२ लाख २३ हजार ८ सय ९१ रुपैयाँमा सम्झौता गरेको हो। निर्माण सम्पन्न भएपछि मुलपानी–फलाँटे–रानीघाट सडक वीरेन्द्रनगरका स्थानीय बस्ती तथा रानीघाट क्षेत्रसँगको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार