२०८३ असोज २१ , बुधबार

हुम्लाका चार दर्जनभन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा



हुम्ला । हिमाली जिल्ला हुम्लाका सातवटै गाउँपालिकाका चार दर्जनभन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्।

भिरालो जमिनमा वर्षा हुँदा पहिरो जाने भएकाले ती बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका हुन्। जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले जिल्लाका सातवटै गाउँपालिकाका चार दर्जनभन्दा बढी गाउँबस्तीलाई बाढीपहिरोको उच्च जोखिममा औँल्याएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताउनुभयो। स्थलगत रूपमा पुगेको टोली र गाउँपालिकाको सिफारिसलाई आधार मानेर उक्त प्रतिकार्य योजना तयार पारिएको हो।

बाढीपहिरोको उच्च जोखिममा रहेका यी बस्तीमा भिरालो जमिनमा घर निर्माण गरी स्थानीयवासी बसोबास गर्दै आएकाले वर्षातमा पानी परेपछि जोखिम अझ बढ्ने गरेको उहाँले बताउनुभयो। यसरी बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीमध्ये नाम्खा गाउँपालिका–१ को हेक्पा, वडा नम्बर ४ को चाला, वडा नम्बर ५ को तुम्कोट र हिल्सा तथा वडा नम्बर ६ को लिमीका तीन गाउँ तील, हल्जी र जाङ रहेका छन्।

त्यसैगरी, सिमकोट गाउँपालिका–१ को दोजाम, वैजीवाडा र ठेहे, वडा नम्बर २ को ठेहे, वडा नम्बर ३ को स्याम्ने, वडा नम्बर ६ को माथिल्लो गाउँ ९पाउवाडा०, वडा नम्बर ७ को डाँडाफया, माझगाउँ, टुलिङ र धारापोरी तथा वडा नम्बर ८ को खोल्सी र याङ्गु रहेका छन्। खार्पुनाथ गाउँपालिका–१ को लाली, वडा नम्बर २ को थाली, वडा नम्बर ३ को रायाँ, वडा नम्बर ४ को छिप्रा र वडा नम्बर ५ को खर्पेलगाउँ पनि बाढीपहिरोको उच्च जोखिममा रहेका छन्।

सर्केगार्ड गाउँपालिका–१ का जैर, तुम्च र छिडीनात्ता, वडा नम्बर २ को रिप, वडा नम्बर ४ को गाउँपालिका केन्द्र सर्केगार्ड बजार, डाँडासयाँ र गैरीसाँया तथा वडा नम्बर ६ को वराई उच्च जोखिममा रहेका छन्। त्यस्तै, चङ्खेली गाउँपालिका–१ को रिमी, वडा नम्बर २ को दार्मा, वडा नम्बर ३ को मिमी, वडा नम्बर ४ को पिप्लाङ, वडा नम्बर ५ को नेक्पा र वडा नम्बर ६ को मेल्छाम पनि जोखिममा रहेका छन्।

अदानचुली गाउँपालिका–१ को कल्खे, वडा नम्बर ४ को रिल्म र किगोठी तथा वडा नम्बर ६ को पाल्स र लुमई बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। त्यसैगरी, ताँजाकोट गाउँपालिका–१ को काँडाजीवन, वडा नम्बर २ को मैला गाउँ, वडा नम्बर ३ को थापा र चौतारी गाउँ, वडा नम्बर ४ को गल्लावडा तथा वडा नम्बर ५ को लोटपाटा बस्ती उच्च जोखिममा रहेका छन्। यीमध्ये आधा दर्जन बस्तीका स्थानीयवासीले बस्ती नै स्थानान्तरण गर्न माग गर्दै आएका छन्। तीमध्ये लिमीका तीनवटा बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यसमेत अघि बढेको छ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार