२०८३ असोज २१ , बुधबार

हावाहुरीसँगै वर्षा, तीन दिनसम्म मौसम प्रतिकूल रहने



काठमाडौं, । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार हावाहुरी, मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ।

मौसमविद्का अनुसार मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत देखिएकाले आगामी तीन दिनसम्म मौसम पूर्ण रूपमा स्थिर नहुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बुधबार काठमाडौं उपत्यकामा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका केही स्थानमा भने भारी वर्षा हुनसक्ने उहाँले बताउनुभयो।

“काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छ। अधिकांश स्थानमा मध्यम वर्षा हुने देखिन्छ भने कतिपय ठाउँमा भारी वर्षासमेत हुनसक्छ,” मौसमविद् लामिछानेले बताउनुभयो। विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

पछिल्लो केही घण्टामा चितवन, पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो। नवलपुर, तनहुँ, गोरखा, अर्घाखाँची र रुपन्देहीलगायत क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको उहाँले बताउनुभयो।

काठमाडौंमा हावाहुरीसँगै वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा पछिल्लो समय हावाको गति बढिरहेको छ। मौसमविद् लामिछानेका अनुसार चितवन–हेटौँडा–मकवानपुर आसपास विकसित भएका वर्षा गराउने बादल काठमाडौं उपत्यकातर्फ सर्दै आएकाले हावाहुरीसँगै वर्षाको सम्भावना बढेको हो। उहाँका अनुसार काठमाडौं आसपास मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेका छन्। वर्षा भएपछि भने हावाको गति क्रमशः कम हुँदै जाने सम्भावना रहेको छ।

शुक्रबारसम्म मौसममा उतारचढाव

मौसमविद् लामिछानेका अनुसार बुधबारको तुलनामा बिहीबार मौसममा केही सुधार देखिए पनि पहाडी तथा तराईका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहनेछ। शुक्रबारसम्म देशका विभिन्न स्थानमा बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्ने उहाँले बताउनुभयो। यद्यपि, वर्षा लामो समयसम्म निरन्तर हुनेभन्दा छोटो समयमा तीव्र रूपमा हुने र केही समयपछि रोकिने प्रकृतिको हुने पूर्वानुमान गरिएको छ। शनिबारदेखि भने मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको मौसमविद्को भनाइ छ।

मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव

मनसुन बाहिरिने क्रममा रहेको र पश्चिमी वायुको प्रभावसमेत देखिन थालेकाले अहिले देशभर एकै प्रकारको मौसम नरहेको मौसमविद् लामिछानेले बताउनुभयो। यसै कारण कुनै स्थानमा घाम लागिरहेका बेला अर्को स्थानमा भने एक्कासि मेघगर्जन, चट्याङ र वर्षा हुने अवस्था देखिएको छ।

दसैँअघि यात्रामा सावधानी अपनाउन आग्रह

दसैँ नजिकिँदै गर्दा केही दिन मौसम अस्थिर रहने भए पनि हालको पूर्वानुमानअनुसार लामो समयसम्म लगातार वर्षा भइरहने अवस्था भने नदेखिएको मौसमविद् लामिछानेले बताउनुभयो। तर छोटो समयमा हावाहुरी, चट्याङ, असिना र तीव्र वर्षा हुनसक्ने भएकाले यात्रा तथा बाहिरी काममा निस्कने सर्वसाधारणलाई तत्कालीन मौसम सूचना हेरेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

विशेषगरी पहाडी तथा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार