२०८३ असोज २२ , बिहीबार
फ्रन्ट पेज

कर्णालीमा चाडपर्व सुरक्षा: मैदानमा ५३ सय प्रहरी, फरार कैदी र हतियार खोजीमा विशेष निगरानी



समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • - प्रदेशभर लामो तथा छोटो दूरीको गस्ती
  • - २ सय ४ वटा टोलीमा ५६ वटा एलआरपी र १४८ वटा पैदल गस्ती
  • - गाउँ–गाउँका बस्ती सुरक्षाका लागि १ सय २ वटा टोली
  • - २८ वटा मोबाइल भ्यान र ९८ वटा मोटरसाइकल गस्ती टोली
  • - कुनै पनि अप्रिय घटना हुनासाथ तत्काल पुग्ने गरी ६० वटा क्यूआरटी टोली
  • - संवेदनशील र रणनीतिक १ सय ७६ स्थानमा पिकेट तैनाथ
  • - १० वटा स्ट्राइकिङ र १३ वटा आकस्मिक सभा, धर्ना नियन्त्रण टोली

सुर्खेत । नेपालीहरूको महान चाड विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा एकीकृत सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको छ । चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप, अवाञ्छित गतिविधि तथा सडक दुर्घटना न्यूनीकरण गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले चाडपर्व लक्षित सुरक्षा योजना निर्माण गरी प्रदेशभरका १० वटै जिल्लामा लागू गरेको हो ।

प्रदेशभर १ हजार ४ सय ६२ वटा विभिन्न ड्युटीहरू तय गरी कुल ५ हजार ३ सय १४ जना प्रहरी जनशक्ति मैदानमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्थालाई भरपर्दो, चुस्त र प्रभावकारी बनाउन आधुनिक सञ्चार साधन, हातहतियार र प्रविधिको उच्च प्रयोग गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख जयराज सापकोटाले जानकारी दिए । प्रमुख सापकोटाका अनुसार नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै भयमुक्त वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्न प्रहरीले कुनै कसर बाँकी राख्ने छैन् । प्रदेश प्रहरी कार्यालयका अनुसार यो विशेष सुरक्षा योजना २०८३ असोज २५ गते (घटस्थापना) देखि सुरु भई २०८३ कात्तिक ३० गते छठ पर्व सम्पन्न नभएसम्म निरन्तर कार्यान्वयनमा रहनेछ ।

कर्णालीका विकट भौगोलिक अवस्थिति भएका बस्तीदेखि मुख्य सहरी क्षेत्र र अन्तर प्रदेश तथा अन्तर्राष्ट्रिय सिमानासम्म प्रहरीको कडा निगरानी रहने गरी योजना तर्जुमा गरिएको सापकोटाले बताए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख जयराज सापकोटाले बताए अनुसार चाडपर्वको बेला गाउँघर तथा सहर बजारमा जनघनत्व बढ्ने, आर्थिक कारोबार तीव्र हुने र आवतजावत बाक्लिने भएकाले आपराधिक समूह सक्रिय हुनसक्ने जोखिम रहन्छ । सोही सम्भावित जोखिमलाई शून्यमा झार्न प्रदेश कमाण्ड पोस्टदेखि स्थानीय युनिटसम्मलाई २४ सै घण्टा हाई अलर्टमा राखिएको सापकोटाले जानकारी दिए ।

यस पटकको सुरक्षा योजनामा परम्परागत अपराध नियन्त्रणका अलावा केही संवेदनशील विषयलाई प्राथमिकतामा राखिएको छ । विशेषगरी फरार अभियुक्तहरू तथा जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरूबाट भागेका कैदीबन्दीहरू चाडपर्वको मौका छोपेर घर फर्किन सक्ने आकलन प्रहरीको छ । त्यस्तै, सोही आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयहरूबाट लुटिएका हातहतियार तथा गोलीगठ्ठाको दुरुपयोग रोक्न र तिनीहरूको बरामदलाई तीव्रता दिन विशेष अपरेशन सञ्चालन गरिएको छ । ‘चाडपर्वको माहोलमा फरार कैदीबन्दी वा अपराधीहरू समाजमा मिसिएर अशान्ति फैलाउने वा आपराधिक कार्य गर्ने सम्भावना रहन्छ,’ प्रमुख सापकोटाले भने, ‘जेनजी आन्दोलनका बेला फरार रहेकाहरूको पक्राउ र लुटिएका हतियारको खोजीलाई हामीले मुख्य रणनीतिक प्राथमिकतामा राखेका छौं ।

यसका लागि सादा पोशाकका गुप्तचर टोली र कर्डन एण्ड सर्च टोलीहरू समेत परिचालन भइसकेका छन् ।’ चाडपर्वको समयमा बैंक, वित्तीय संस्था, सुनचाँदी तथा गरगहना पसल र बढी भीडभाड हुने व्यापारिक केन्द्रहरूमा लुटपाट, चोरी र पाकेटमारीको जोखिम उच्च रहने गर्दछ । यसलाई दृष्टिगत गरी प्रदेशभर वित्तीय संस्था तथा बजार सुरक्षाका लागि ३१ स्थानमा विशेष टोली खटाइएको छ ।

बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव, कालोबजारी, मिसावट तथा ठगी नियन्त्रण गर्न स्थानीय प्रशासनसँगको समन्वयमा नियमित अनुगमनको व्यवस्था मिलाइएको छ । चाडपर्वको नाममा हुने जुवातास, कौडा, लंगुरबुर्जा, डाइस तथा पछिल्लो समय मौलाउँदै गएको अनलाइन सट्टेबाजीलाई पूर्ण रूपमा निस्तेज पार्न २८ वटा विशेष टोली परिचालन गरिएको प्रमुख सापकोटाले बताए । अवैध मदिरा उत्पादन, ओसारपसार र लागूऔषधको जालो तोड्न समेत प्रहरीले १९ वटा छुट्टै युनिट परिचालन गरेको छ ।

दशैं–तिहारमा घर फर्कने नागरिकहरूको चापलाई ध्यानमा राख्दै राजमार्ग तथा सडक सुरक्षालाई कडा पारिएको छ । सार्वजनिक सवारी साधनहरूले यात्रुसँग बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोक्ने र यात्रुमाथि अभद्र व्यवहार गर्ने प्रवृत्ति रोक्न प्रदेशका प्रमुख नाकाहरूमा कडाइ गरिएको छ । यात्रुहरूको सहजता र गुनासो सुनुवाइका लागि अन्तर प्रदेश, अन्तरजिल्ला तथा अन्तर्राष्ट्रिय सीमानाका समेत गरी कुल ३७ स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित चेकिङ (मादक पदार्थ सेवन–मापसे चेकिङ सहित) ६७ स्थानमा र ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ ४७ स्थानमा सञ्चालन भइरहेको छ । लामो दूरीका सवारी साधनहरूको विशेष जाँचका लागि १६ स्थान र राजमार्ग स्कर्टिङका लागि १४ वटा टोली तयारी अवस्थामा राखिएको छ । बाटोमा यात्रुको धनमाल वा झोला छुटेमा खोजतलास गरी सम्बन्धित व्यक्तिलाई बुझाउने संयन्त्र समेत मिलाइएको सापकोटाले जानकारी दिए ।

सुरक्षा योजनालाई परिणाममुखी बनाउन प्रदेशभर प्रहरी जनशक्तिको सन्तुलित र प्रभावकारी तैनाथ गरिएको छ । कुल ५ हजार ३ सय १४ जनशक्तिमध्ये प्रदेश कमाण्ड पोष्टमा १ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) आफैं खटिने छन भने, प्रदेशभरका ड्युटीमा ३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ५ जना प्रहरी उपरीक्षक (एसपी) र १२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) फिल्ड कमाण्डमा रहेका छन् । ४७ जना प्रहरी निरीक्षक, ५५ जना प्रहरी वरिष्ठ नायव निरीक्षक, १ सय १९ जना प्रहरी नायव निरीक्षक, ४ सय ६२ जना प्रहरी सहायक निरीक्षक, २ सय ७४ जना प्रहरी वरिष्ठ हवल्दार, ८ सय ९ जना प्रहरी हवल्दार, १ हजार २ सय १४ जना प्रहरी सहायक हवल्दार र २ हजार ३ सय १३ जना प्रहरी जवान सुरक्षा ड्युटीमा प्रत्यक्ष संलग्न छन् ।

सुरक्षा कार्यलाई सशक्त बनाउन १ हजार २२ वटा ठूला हतियार (७३ हजार ३ सय राउण्ड गोलीसहित), ५ सय ८ वटा साना हतियार (६ हजार ८ सय ८३ राउण्ड गोलीसहित), २ हजार २ सय ७० वटा लाठी र ७ सय ५३ वटा सञ्चार साधन फिल्डमा परिचालन गरिएको छ । कर्णालीका भौगोलिक विकटतालाई सम्बोधन गर्न गस्ती प्रणालीलाई बहुआयामिक बनाइएको छ ।

२३ स्थानमा सीसीटीभीमार्फत चौबिसै घण्टा डिजिटल निगरानी राखिएको छ भने २४ स्थानबाट सचेतनामूलक माइकिङ र जिङ्गल प्रसारण गरी आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । कर्णालीका ऐतिहासिक तथा धार्मिक मठमन्दिर, पर्यटकीय स्थलहरू र महत्वपूर्ण सरकारी प्रतिष्ठानहरूको सुरक्षार्थ छुट्टै सुरक्षा रणनीति बनाइएको छ । ३८ स्थानका धार्मिक तथा पर्यटकीय क्षेत्र र ३३ स्थानका सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानहरूमा विशेष सुरक्षा बल तैनाथ गरिएको छ । कार्यालय सुरक्षाका लागि मात्रै २ सय ४८ ड्युटीमा १ हजार १ सय २ जना प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, तिहार तथा छठका बेला हुनसक्ने अवैध पटाका, आतिशबाजी, विस्फोटक पदार्थ र भन्सार छलीका सामानहरूको ओसारपसार नियन्त्रण गर्न सीमानाकाहरूमा चोरी तस्करी नियन्त्रण टोली परिचालन गरी कडा जाँचको व्यवस्था गरिएको छ । सापकोटाले कुनै पनि विपद् वा आकस्मिक अवस्था आइपरेमा तत्काल थप मद्दत पु¥याउन प्रदेश प्रहरी गण, विशेष सुरक्षा गण, विपद् व्यवस्थापन गुल्म र तालिम केन्द्रहरूबाट पर्याप्त रिजर्भ फोर्स तयारी अवस्थामा राखिएको बताए ।

उनले चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आम नागरिक, सञ्चारकर्मी तथा नागरिक समाजलाई समेत प्रहरीसँग हातेमालो गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार