२०८३ असोज २८ , बुधबार

शुक्र अस्त हुँदै : के गर्न हुन्छ, के गर्न हुँदैन ?



काठमाडौं । आज बुधबार दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्ताउने भएको छ । ज्योतिषीय मान्यताअनुसार शुक्र ग्रह आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशामा उदाउनेछ ।

शुक्र अस्तको अवधि बडादसैँसँगै परे पनि दसैँका नियमित पूजाआजा, दुर्गा भवानीको आराधना तथा विजयादशमीमा टीका र जमरा ग्रहण गर्न कुनै बाधा नपर्ने धार्मिक मान्यता रहेको छ । ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, प्रेम, विवाह, ज्ञान र भौतिक सुखसुविधाको प्रतीक मानिन्छ । सूर्यसँगको कोणीय दूरी १० डिग्रीभन्दा कम भएपछि ग्रह अस्त हुने ज्योतिषीय मान्यता छ । शुक्र अस्त भएको समयमा नयाँ तथा माङ्गलिक कार्य सुरु गर्नु उचित नहुने विश्वास गरिन्छ । शास्त्रीय मान्यताअनुसार शुक्र अस्त हुनुभन्दा तीन दिनअघिदेखि र उदय भएको तीन दिनपछिसम्म विवाहलगायत शुभ कार्य गर्न नहुने उल्लेख छ । यद्यपि, दैनिक रूपमा गरिने धार्मिक कर्म तथा विशेष अवसरमा गरिने नित्य र नैमित्तिक कार्य भने गर्न सकिने बताइन्छ ।

शुक्र अस्तको समयमा गर्न मिल्ने काम

यस अवधिमा स्नान, सन्ध्या, पाञ्चायन पूजा, तुलसी पूजा, श्राद्ध तथा तर्पणजस्ता धार्मिक कार्य गर्न सकिने मान्यता छ । त्यसैगरी, बडादसैँअन्तर्गत देवीपूजा, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका विधि सम्पन्न गर्न पनि रोकावट नरहेको बताइन्छ । सप्तशती चण्डी पाठ, हातहतियारको पूजा तथा देवी विसर्जन गर्नसमेत बाधा नपर्ने धार्मिक विश्वास छ । विजयादशमीका दिन दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्न पनि शास्त्रीय निषेध नरहेको उल्लेख छ ।

शुक्र अस्तको समयमा गर्न नहुने काम

ज्योतिषीय मान्यताअनुसार शुक्र अस्तको अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश तथा नयाँ घर निर्माणको शुभारम्भ गर्न हुँदैन । मन्दिर निर्माण सुरु गर्ने, देवताको प्राणप्रतिष्ठा गर्ने, कर्णवेध संस्कार गर्ने र अन्य नयाँ माङ्गलिक कार्य सञ्चालन गर्न पनि निषेध गरिएको छ । त्यस्तै, नयाँ तीर्थयात्रा सुरु गर्ने, दीक्षा लिने, सन्न्यास व्रत ग्रहण गर्ने तथा राज्याभिषेकजस्ता कार्य पनि यस अवधिमा नगर्नु उचित मानिन्छ ।

शुक्र ग्रहलाई सवारीसाधन र विलासितासँग समेत जोडेर हेरिने भएकाले शुक्र अस्तको समयमा नयाँ सवारीसाधन खरिद–बिक्री नगर्नु उपयुक्त हुने ज्योतिषीय विश्वास छ । समग्रमा, शुक्र अस्तको अवधिमा विवाहलगायत नयाँ माङ्गलिक कार्य नगर्न सुझाव दिइए पनि दसैँका परम्परागत धार्मिक विधि, नवदुर्गाको पूजा तथा विजयादशमीमा टीका–जमरा ग्रहण गर्न भने बाधा नपर्ने धार्मिक मान्यता रहेको छ ।

 

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार