सुर्खेत। सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–९, बोटेचौर निवासी २८ वर्षीय विमल राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार राति करिब १२ः३० बजे भालुखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना भएको हो। भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनाका क्रममा ट्याक्टरको अगाडिको भागले च्यापिँदा ट्याक्टरमा सवार रानाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका–२, खरिगैरा निवासी ४८ वर्षीय चन्द्र प्रकाश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बिहीबार








