काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गरिरहेका छन् । प्रतियोगिताअन्तर्गत हालसम्म भएका छ खेलमा सबै खेलको ‘प्लेयर अफ दी म्याच’ नेपाली खेलाडी बनेका छन् ।
एनपीएलको इतिहासमा लगातार छ खेलमा नेपाली खेलाडीले यो उपाधि जितेको पहिलोपटक हो । कात्तिक ९ गते सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले सुदूरपश्चिम रोयल्सविरुद्ध तीन विकेट लिएका थिए । त्यसपछि दोस्रो खेलमा चितवन राइनोजका कमलसिंह ऐरीले विराटनगर किङ्सविरुद्ध चार विकेट लिएर ‘प्लेयर अफ दी म्याच’को उपाधि हात पारे । तेस्रो खेलमा कर्णाली याक्सका युनिशविक्रम ठकुरीले जनकपुर बोल्ट्सविरुद्ध तीन विकेट लिँदै उत्कृष्ट खेलाडी बने ।
चौथो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाउनुका साथै एक विकेट लिए । उनको अलराउण्ड प्रदर्शनले टोलीलाई ६ विकेटको जित दिलाउन मद्दत ग¥यो । पाँचौँ खेलमा जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादवले काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिए । उनको उत्कृष्ट बलिङको मद्दतमा जनकपुरले आठ विकेटको जित निकाल्दा उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए । छैटौँ खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाए । विराटनगर किङ्सविरुद्ध उनले अविजित ६२ रन बनाउनुका साथै चार विकेट लिए ।
उनको प्रदर्शनमा कर्णालीले चार विकेटको रोमाञ्चक जित हासिल ग¥यो । जारी प्रतियोगितामा अहिलेसम्म पाँच अर्धशतक बनेका छन् । तीमध्ये तीन अर्धशतक नेपाली खेलाडीले प्रहार गरेका छन् भने दुई अर्धशतक विदेशी खेलाडीको नाममा छन् । नेपाली खेलाडीमध्ये कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगर किङ्सका ओपनर लोकेश बमले अर्धशतक बनाएका छन् । विदेशी खेलाडीमध्ये जनकपुर बोल्ट्सका मोइन अली र चितवन राइनोजका डेभिड मलानले अर्धशतक पूरा गरेका छन् ।
प्रतियोगिताको व्यक्तिगत बलिङतर्फ जनकपुर बोल्ट्सका राहुल यादव शीर्ष स्थानमा छन् । उनले दुई खेलबाट ६ विकेट लिएका छन् । दुई खेलमै पाँच विकेट लिएका कर्णाली याक्सका कप्तान सोमपाल कामी दोस्रो र सुदूरपश्चिमका अनिल खरेल तेस्रो स्थानमा छन् । चार विकेट लिएका जनकपुरका विदेशी खेलाडी हर्मीत चौथो स्थानमा रहँदा एक खेलबाटै चार विकेट लिएका लुम्बिनीका किशोर महतो पाँचौँ स्थानमा छन् ।
ब्याटिङतर्फ विराटनगर किङ्सका लोकेश बम शीर्ष स्थानमा छन् । उनले दुई खेलबाट एक अर्धशतकसहित ११३ रन बनाएका छन् । कर्णालीविरुद्ध उनले प्रतियोगिताकै व्यक्तिगत उच्च स्कोरका रूपमा ८७ रन प्रहार गरेका थिए । दोस्रो स्थानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । उनले दुई खेलबाट एक अर्धशतकसहित ७८ रन बनाएका छन् । जनकपुरका मोइन अली ७७ रनसहित तेस्रो र कर्णालीका अरिफूल स्लाम ७५ रनसहित चौथो स्थानमा छन् । दुई खेलबाट ७३ रन बनाएका कर्णालीका पवन सराफ पाँचौँ स्थानमा छन् ।
विश्वका चर्चित खेलाडी सहभागी प्रतियोगितामा नेपाली खेलाडीले देखाएको प्रदर्शनको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि प्रशंसा गरेका छन् । उनका अनुसार नेपाली क्रिकेटको व्यावसायिक विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले एनपीएल आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँगै प्रतिस्पर्धा गर्दै नेपाली खेलाडीले देखाएको प्रदर्शन प्रशंसनीय रहेको उनले बताएका छन् ।
जारी एनपीएलमा अहिलेसम्म सबैभन्दा ठूलो योगफल कर्णाली याक्सले बनाएको छ । कर्णालीले १८७ रन जोडेको थियो । यसैगरी, सबैभन्दा कम योगफल बनाउने टोली सुदूरपश्चिम रोयल्स बनेको छ । टोली ८७ रनमै समेटिएको थियो । प्रतियोगिताको हालसम्मकै उच्च साझेदारी जनकपुर बोल्ट्सका शैफ हसन र मोइन अलीबीच भएको छ । उनीहरूले काठमाडौं गोर्खाजविरुद्ध तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुने तालिका छ ।








