२०८३ कात्तिक २९ , आइतबार

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो



 काठमाडौं । हुसेन तलतको उत्कृष्ट अलराउण्ड प्रदर्शनको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको थियो ।

यता, चितवनले भने यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । सात खेलबाट सात अंक जोडेको चितवन लिग चरणमा चौथो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको छ । कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । कर्णालीको जितमा हुसेन तलतले ब्याटिङमा अर्धशतक प्रहार गर्नुका साथै बलिङमा तीन विकेट लिए ।

चितवनका लागि एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित २८ रन बनाए । उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ओपनर कमिल मिशाराले १७ बलमा दुई चौका र दुई छक्कासहित २५ रन जोडे । देव खनालले १३ बलमा तीन चौकाको मद्दतमा १४ रन बनाए ।

कमिल र देवले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि चितवनले लगातार विकेट गुमायो । कप्तान सिकन्दर राजा दुई, विवेक यादव छ र डान मोस्ली आठ रनमा आउट भए । चितवनले ६४ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो ।

कुशल मल्ल र सलाउद्दिन खानले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि ठूलो साझेदारी गर्न सकेनन् । कुशलले १५ बलमा एक चौका र एक छक्कासहित १८ रन बनाए भने सलाउद्दिन सात रनमा आउट भए । यस सिजन पहिलो खेल खेलेका अशोक धामीले ११ रन बनाए । कमल सिंह ऐरी र रिजन ढकाल समान एक रनमा आउट भए ।

कर्णालीका लागि हुसेन तलतले ३.१ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । मार्क वाट र पवन सर्राफले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

कर्णालीका लागि हुसेन तलतले ३३ बलमा दुई चौका र एक छक्काको मद्दतमा अविजित ५१ रन बनाए । ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा चार चौका र दुई छक्कासहित ३५ रन जोडे । पवन सर्राफले २१ बलमा दुई छक्काको मद्दतमा १५ रन बनाए । गुल्सन झाले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै ६ बलमा एक चौका र दुई छक्कासहित १८ रन जोडे ।

यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका चसिन शर्मा खाता नखोली आउट भए । दीपक डुम्रेले सात, कप्तान डेभिड मिलरले पाँच, सोमपाल कामीले चार र मार्क वाटले छ रन बनाए । नन्दन यादव दुई रनमा अविजित रहे ।

चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले दुई–दुई विकेट लिए । रिजन ढकाल र कप्तान सिकन्दर राजाले एक–एक विकेट हात पारे । हुसेन तलतको ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शनसँगै कर्णालीले लिग चरणको अन्तिम खेलमा चितवनलाई हराउँदै प्रतियोगिताबाट बिदा भएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार