स्याङ्जा। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। उनले नेपाली कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महामन्त्री पौडेलले लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएको कांग्रेसको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए।
निर्वाचन जित्दैमा कानुन मिच्ने छुट कसैलाई नहुने उल्लेख गर्दै उनले सरकारलाई लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्न आग्रह गरे। कांग्रेसलाई कमजोर बनाएर देशको लोकतान्त्रिक व्यवस्था नै कमजोर बनाउने प्रयास भइरहेको उनको भनाइ थियो।
मुद्दा दर्ता हुँदैमा दुई जना सभापति नहुने स्पष्ट पार्दै पौडेलले सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार गठन नहुने उदाहरण दिए। राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने उनले बताए।
वर्तमान सरकारले नागरिकको जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा प्रभावकारी काम गर्न नसकेको आरोपसमेत उनले लगाए। संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितका समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको उनको टिप्पणी थियो। सरकार क्रमशः नागरिकको विश्वास गुमाउँदै गएको उनले दाबी गरे।
निर्वाचनमा कांग्रेसले पराजय व्यहोरे पनि विचारको जित भएको उल्लेख गर्दै पौडेलले नेपाली कांग्रेसलाई राजनीतिको विश्वविद्यालयको संज्ञा दिए। उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गरिने जानकारीसमेत दिए।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सबै राजनीतिक दल एउटै हुन् भन्ने भाष्य निर्माण भइरहेको भन्दै कांग्रेस अन्य दलभन्दा फरक रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए। कांग्रेसले आफ्नो इतिहास, विचार र योगदान जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्न सके पार्टी पुनः आफ्नो गौरवशाली इतिहास र पहिचानमा फर्किने उनको भनाइ थियो।







