काठमाडौं। विदेशमा जन्मिएका तथा बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्न अब स्वघोषणा गर्नुपर्ने भएको छ।
सरकारले नेपाल नागरिकता नियमावली, २०६३ मा पाँचौँ संशोधन गर्दै नागरिकता प्राप्तिका लागि आवश्यक स्वघोषणाको औपचारिक ढाँचा निर्धारण गरेको हो। गृह मन्त्रालयले संशोधित नियमावली सार्वजनिक गरेसँगै यससम्बन्धी कानुनी प्रक्रिया थप स्पष्ट भएको छ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (५ख) मा नेपालको नागरिक आमाबाट विदेशमा जन्मिएका, नेपालमा स्थायी बसोबास गरेका, विदेशी नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नभएका व्यक्तिले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।
तर, उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक स्वघोषणाको औपचारिक ढाँचा स्पष्ट नहुँदा प्रक्रिया अघि बढाउन कठिनाइ हुँदै आएको थियो। नियमावलीको पाँचौँ संशोधनले अनुसूची ७ग मा स्वघोषणाको ढाँचा समावेश गरेको छ।
नयाँ व्यवस्थाअनुसार नागरिकता लिन चाहने व्यक्तिले आफू नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गर्दै आएको, विदेशी नागरिकता वा राहदानी नलिएको तथा हालसम्म बाबुको पहिचान नभएको विषयमा स्वघोषणा गर्नुपर्नेछ।
स्वघोषणा गर्ने व्यक्तिले आफ्नो नाम, थर, जन्ममिति, दस्तखत र मिति उल्लेख गरी दायाँ तथा बायाँ हातको औँठाछापसमेत लगाउनुपर्नेछ। स्वघोषणा गराउने अधिकृतले पनि आफ्नो नाम, पद, दस्तखत र मिति खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, आमाले पनि छुट्टै स्वघोषणा गर्नुपर्नेछ। आमाले आफ्नो सन्तान नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गरेको, विदेशी नागरिकता वा राहदानी नलिएको र सन्तानको बाबुको पहिचान हालसम्म हुन नसकेको व्यहोरा खुलाउनुपर्नेछ।
आमाको स्वघोषणामा नागरिकता प्रमाणपत्र नम्बर, नागरिकता जारी भएको जिल्ला, जारी मिति र राष्ट्रिय परिचय नम्बरसमेत उल्लेख गर्नुपर्नेछ। आमा र सन्तान दुवैले आफ्नो स्वघोषणामा उल्लेख गरेका विवरण सत्य भएको र झुटो ठहरिएमा कानुनबमोजिम सजाय भोग्न तयार रहेको प्रतिबद्धतासमेत जनाउनुपर्नेछ।
नियमावलीको संशोधनले यसअघि ऐनमा व्यवस्था भए पनि प्रक्रियागत स्पष्टता अभावका कारण कार्यान्वयनमा कठिनाइ भइरहेको नागरिकता प्राप्तिसम्बन्धी व्यवस्थालाई सहज बनाउने अपेक्षा गरिएको छ।







