२०८३ कात्तिक २९ , आइतबार

पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

काठमान्डुले टस जित्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएको हो । पोखराका लागि यस सिजनको यो अन्तिम खेल हुनेछ भने काठमान्डु यसअघि नै प्लेअफमा पुगिसकेको छ । लिग चरणमा खराब प्रदर्शन गरेको पोखरा अंक तालिकाको पुछारमा रहेको छ । त्यसैले पोखरा जितका साथ प्रतियोगिताको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

आजको खेलका लागि काठमान्डुले टोलीमा चार परिवर्तन गरेको छ । आदिल आलम, साहिल पटेल, साम हिजलेट र दुशान हेमन्थाको स्थानमा क्रमशः सुमित महर्जन, सोनु देवकोटा, स्मित पटेल र विल बोसिस्टोले मौका पाएका छन् ।

यस्तै, पोखराले पनि टोलीमा तीन परिवर्तन गरेको छ । सागर ढकाल, अर्जुन घर्ती र किरण ठगुन्नाको स्थानमा विपिन आचार्य, विवेक रानामगर र दिनेश खरेलले स्थान बनाएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार