२०८३ कात्तिक ३० , सोमबार
सम्पादकीय

चौकुनेको औद्योगिक सपना र अलपत्र लगानी



कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि त्यसको उपयोग गरेर औद्योगिक विकास गर्ने सवालमा पछाडि छ । यहाँ उपलब्ध स्रोतसाधनलाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोड्न नसक्दा औद्योगिक विकासको सम्भावना अझै व्यवहारमा देखिन सकेको छैन । सुर्खेतको चौकुनेमा स्थापना हुन लागेका दुई सिमेन्ट उद्योगको अवस्थाले कर्णालीको औद्योगिक सम्भावना र चुनौती दुवैलाई उजागर गरेको छ । चौकुने गाउँपालिका–९ सुनाकाँडामा करिब १५ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको सूर्यतारा सिमेन्ट उद्योगले भने आशा जगाएको छ । उद्योग निर्माणको काम अघि बढिरहेको छ । निर्माणमा करिब २५० मजदुर खटिएका छन् । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ५० हजार बोरा सिमेन्ट उत्पादन र करिब एक हजार जनालाई प्रत्यक्ष रोजगारी दिने कम्पनीको अनुमान छ । यो कर्णालीका लागि औद्योगिक विकासको महत्वपूर्ण अवसर हो । तर निर्माणको काम समयमै सम्पन्न गरी उत्पादन सुरु गर्नु अहिलेको मुख्य आवश्यकता हो ।

यसको ठीक विपरीत चौकुने गाउँपालिका–६ मा रहेको मुक्तिश्री सिमेन्ट उद्योगको अवस्था छ । २०६६ सालमै चुनढुङ्गा उत्खननको अनुमति पाएको कम्पनीले १६–१७ वर्ष बितिसक्दा पनि उद्योग निर्माण सुरु गर्न सकेको छैन । करिब ११ हजार रोपनी क्षेत्रमा फैलिएको चुनढुङ्गा खानी उपयोगविहीन छ । उद्योग स्थापना गर्ने भन्दै अनुमति लिने तर लामो समयसम्म काम नगर्ने प्रवृत्तिले स्थानीयको अपेक्षा निराश बनाएको छ । यसले प्राकृतिक स्रोतको उपयोग र सरकारी अनुमति प्रक्रियामाथि समेत प्रश्न उठाएको छ ।उद्योग स्थापनाका नाममा वर्षौँसम्म स्रोत ओगटेर राख्ने छुट कसैलाई दिनु हुँदैन । लगानीकर्ताले प्रतिबद्धताअनुसार काम नगरे राज्यले कानुनी प्रक्रिया पूरा गरी अनुमति खारेज गर्ने वा अर्को लगानीकर्ताका लागि बाटो खोल्ने निर्णय गर्न सक्नुपर्छ । चौकुने गाउँपालिकाले मुक्तिश्रीको अनुमति खारेजीका लागि गरेको पहललाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।

औद्योगिक विकासका लागि लगानीसँगै सडक, विद्युत्, खानेपानी र ढुवानीको सहज व्यवस्था आवश्यक छ । उद्योग सञ्चालन गर्दा वातावरणीय प्रभाव र स्थानीय नागरिकको अधिकार संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्छ । कर्णालीमा सम्भावना नभएको होइन, त्यसलाई परिणाममा बदल्ने इच्छाशक्ति र प्रभावकारी कार्यान्वयनको अभाव हो । अब उद्योग स्थापनाका घोषणा र प्रतिबद्धताभन्दा उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्रमा देखिने योगदानलाई प्राथमिकता दिनुपर्छ । चौकुनेको औद्योगिक सपना पूरा गर्न सरकार र लगानीकर्ता दुवै जिम्मेवार बन्न आवश्यक छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते सोमबार