सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्रको आन्तरिक एकता, १५ औँ महाधिवेशन तथा समसामयिक राजनीतिक–आर्थिक विषयलाई केन्द्रमा राख्दै १० बुँदे अवधारणा पत्र ‘दश सूत्र–२०८३’ सार्वजनिक गरेको छ । जेठ दुई र तिन गते वीरेन्द्रनगरमा सम्पन्न प्रदेशस्तरीय विचार गोष्ठीमार्फत सार्वजनिक गरिएको अवधारणा पत्रमा पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । दस्ताबेजमा कांग्रेसका संस्थापक नेताहरूको आदर्श तथा नेता पूर्णबहादुर खड्काको नेतृत्वको प्रशंसा गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रतिको प्रतिबद्धता पुनः दोहोर्याइएको छ ।
अवधारणा पत्रमा १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा सम्पन्न गर्नुपर्नेमा विशेष जोड दिइएको छ । पार्टी सभापति गगनकुमार थापालाई शीर्ष नेताहरूसँग समन्वय गर्दै निष्पक्ष र विश्वसनीय वातावरण निर्माण गर्न आग्रह गरिएको छ । कर्णालीको भौगोलिक विकटता र प्रविधिमा सीमित पहुँचलाई ध्यानमा राख्दै सदस्यता नवीकरण तथा अद्यावधिक प्रक्रिया तत्काल स्थगित गरी सहमतिका आधारमा अघि बढाउन माग गरिएको छ । साथै, अनुशासन समितिले नेता–कार्यकर्तामाथि गरेको कारबाही र स्पष्टीकरण फिर्ता लिएर पार्टीभित्र एकताको वातावरण बनाउनुपर्ने उल्लेख गरिएको छ ।
दस्ताबेजले दलित, महिला, जनजाति, मधेशी लगायत समुदायको समावेशितालाई प्राथमिकता दिँदै पार्टीका सबै तहमा कम्तीमा २५ प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । भू–राजनीतिक सन्दर्भमा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर ‘आफ्नो राष्ट्र पहिलो’ भन्ने साझा दृष्टिकोण आवश्यक रहेको कांग्रेस कर्णालीले जनाएको छ । त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेन्द्र शाहले देखाएको व्यवहारप्रति कांग्रेस कर्णालीले आपत्ति जनाएको छ । उक्त व्यवहारलाई असंसदीय र अमर्यादित भन्दै जननिर्वाचित संसद्को अपमान भएको टिप्पणी गरिएको छ ।
अवधारणा पत्रमा महँगी नियन्त्रण, श्रमिक अधिकार संरक्षण, प्राकृतिक विपद् तयारी, भ्रष्टाचार नियन्त्रण तथा आगामी बजेटमा कर्णालीको विकासका लागि पर्याप्त बजेट सुनिश्चित गर्न सरकारसँग समन्वय गर्नुपर्ने विषय पनि समेटिएका छन्। यस्तै, ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु देउवामाथि भएको आक्रमणको कांग्रेस कर्णालीले भर्त्सना गरेको छ।









