२०८३ जेठ ४ , सोमबार

पानी अभावले कष्टकर बन्दै मान्म बजार



कालीकोट । जिल्लाको सदरमुकाम मान्म बजारमा हरेक वर्षजस्तै यस वर्ष पनि खानेपानीको गम्भीर समस्या देखिएको छ । कमजोर व्यवस्थापन, असमान वितरण प्रणाली तथा पर्याप्त मुहानको अभावका कारण बजार क्षेत्रमा पानीको हाहाकार मच्चिएको स्थानीयवासीले बताएका छन् । स्थानीयका अनुसार सडक विस्तारका क्रममा तथा वन क्षेत्रतर्फ जाने केही बासिन्दाले पानीका पाइपलाइन काटिदिने समस्याले समेत पानी आपूर्तिमा अवरोध हुँदै आएको छ ।
सदरमुकामजस्तो संवेदनशील क्षेत्रमा खानेपानी व्यवस्थापनको जिम्मा लिएको निकाय प्रभावकारी नबन्दा उपभोक्ताले वर्षौंदेखि सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । खानेपानी संकट चर्किएपछि मान्म बजारका उपभोक्ताले समस्या समाधानको माग गर्दै खाँडाचक्र नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
उपभोक्ता नन्दबहादुर शाहीको नेतृत्वमा पुगेको टोलीले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो । उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा समेत ध्यानाकर्षण गराए पनि हालसम्म समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको आरोप लगाएका छन् । “जहाँ गुहार मागे पनि सुनुवाइ भएन, पानीको समस्या झन् बढ्दै गएको छ,” स्थानीय उपभोक्ताले बताएका छन् ।
प्रकाशित मिति : २०८३ जेठ ४ गते सोमबार