जुम्ला । तातोपानी गाउँपालिका चारमा चालु आर्थिक वर्षअन्तर्गत सञ्चालन भइरहेका विभिन्न विकास योजनाको दोस्रो चरणको अनुगमन गरिएको छ । वडा नम्बर चार का नियापानी, गिडिखोला, पत्थेनी, हाँकु, जैतपुर र गौतमवाडा क्षेत्रमा सञ्चालन भएका योजनाको स्थलगत निरीक्षण गर्दै अनुगमन समितिले प्रगति मूल्याङ्कन गरेको हो । चालु आर्थिक वर्षमा तीन लाखदेखि ४० लाख रुपैयाँसम्मका पूर्वाधार तथा विकास योजनाहरू सञ्चालनमा रहेका छन् । वडा कार्यालयका अनुसार समानिकरण बजेटअन्तर्गत १७ वटा योजना सञ्चालनमा छन् भने मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक वटा र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ वटा योजना कार्यान्वयन भइरहेका छन् ।
त्यसैगरी प्रदेश सरकारको सशर्त अनुदानमार्फत तिन वटा, प्रदेश सरकार मातहतका विषयगत कार्यालयमार्फत चार वटा तथा सामाजिक संघसंस्थाको सहयोगमा एक वटा योजना सञ्चालन गरिएको छ । वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार वैशाख २९ गतेसम्म छ वटा योजना पूर्ण रूपमा सम्पन्न भइसकेका छन्। त्यस्तै, १० वटा योजनाको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भएको छ भने छ वटा योजनामा आधाभन्दा बढी काम सकिएको अवस्था रहेको छ । हालै सम्झौता सम्पन्न भई कार्य प्रारम्भ भएका ३ वटा योजना पनि निर्माण चरणमा प्रवेश गरिसकेका छन् ।
उनका अनुसार विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले दुई वटा योजनाको सम्झौता प्रक्रिया भने अझै पूरा हुन सकेको छैन । कुल योजनामध्ये २४ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका छन् भने तिन वटा योजना बोलपत्र प्रक्रियाबाट कार्यान्वयनमा ल्याइएको छ । अनुगमनका क्रममा निर्माणको गुणस्तर, समयसीमा, बजेट कार्यान्वयन तथा स्थानीय सहभागिताबारे समेत समीक्षा गरिएको वडा कार्यालयले जनाएको छ । निर्माण सम्पन्न भएका योजनाका उपभोक्ता समितिलाई आवश्यक कागजातसहित समयमै भुक्तानी प्रक्रिया अघि बढाउन वडा कार्यालयले आग्रह गरेको छ ।
वडाध्यक्ष रोकायाले बिल भर्पाइ, डोरहाजिर, सार्वजनिक सुनुवाइ प्रतिवेदन, योजनाको कलर फोटो, उपभोक्ता समितिको निर्णय तथा भुक्तानी सिफारिसका लागि निवेदनसहित वडा कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी दिए । त्यस्तै, निर्माणाधीन योजनाहरू सम्झौतामा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न र कार्य सम्पन्न भएपछि अनुगमन तथा मूल्याङ्कनका लागि वडा कार्यालयलाई जानकारी गराउन पनि आग्रह गरिएको छ । स्थानीयस्तरमा सञ्चालन भइरहेका योजनाको प्रभावकारी कार्यान्वयन र पारदर्शिता सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ ।









